विराटनगर । सप्तकोशी नदीले बाँध फुटाएर उदयपुरको वेलका नगरपालिकाको बस्तीमा पसेपछि स्थानीयहरु सुरक्षित स्थानमा सरिरहेका छन् ।

बुधबार बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् ।

बाढी प्रभावितहरु बोक्नसक्ने सरसामान र पशु चौपाया साथमा लिएर बाहिर सुरक्षित स्थानको खोजीमा निस्किएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेकोले त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ का साथै सुनसरीको बराह क्षेत्रको श्रीलंका टापुका केही वडाहरू प्रभावित हुने अवस्था छ । प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान प्रशासन सक्रिय रहेको कार्कीले बताए ।

गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई उद्धारमा जुट्न निर्देशन दिएका छन् । अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयम्सेवकको टोलीले उद्धार गरिरहेको छ ।

बेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने अनुमान नगरपालिकाले गरेको छ । प्रभावितहरूका लागि अस्थायी निवासको खोजी भइरहेको
मेयर कार्कीले बताए ।

बेलका नगरपालिका ८ डुम्रीबोटे लाहुरेखोचबाट सप्तकोसी नदी पश्चिमतर्फ पसेको हो। २०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो।