उदयपुर । लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेमा कटान सुरु भएको छ । नदी कटान नरोकिए २० हजारभन्दा धेरै नागरिक उच्च जोखिमा पर्ने आँकलन गरिएको छ ।
कोसीले डुम्रीबोटेमा कटान गरेर बस्तीतर्फ छिरेमा उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायका बस्तीका १ हजार ७ सय परिवार जोखिममा परेका हुन् ।
कटान नरोकिए सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने बेलका नगरपालिकका नगर प्रमुख अशोक कार्कीले बताए । कटान रोक्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्रयास गरिरहेको उनले बताए ।
कोसी कटान तीव्र भएसँगै रोकथामको प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताएका छन् । कटान रोक्नलाई घाँस र बाँसको जैविक बाँध निर्माण गर्ने कार्य भइरहेको उनले जानकारी दिए । कटान नरोकिए कोसी पुरानै धारमा फर्किने खतरा रहेको छ ।
यसैबीच सप्तकोसी नदीमा पानीको सतह बढेपछि तटबन्ध छेउका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पानीको अत्यधिक चाप रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र मध्यकोसीमा रहेको वडा नम्बर १३ गोबरगाढामा ‘हाई अलर्ट’ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जानकारी दिएका छन् ।
मंगलबार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको छ । कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।