विराटनगर । सीमावर्ती क्षेत्रबाट हुने चोरी, तस्करी र अपराध रोकथाम तथा नियन्त्रणको लागि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी परिचालन गर्ने भएको छ ।
खुल्ला सीमाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अपराधजन्य गतिबिधिको रोकथाम र नियन्त्रणको लागि सीमावर्ती तीन जिल्लाको सीमावर्ती क्षेत्रमा छुट्टै प्रहरी परिचालन गर्ने तयारी भएको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश १ को झापा, मोरङ र सुनसरीको भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रमा प्रहरीले साउन २० गतेबाट गस्ती सुरु गर्ने प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । झापा, मोरङ र सुनसरी जिल्लामा भारतसँग सीमा जोडिएको क्षेत्र २७० किलोमिटर रहेको छ ।
सीमावर्ती क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली गठन गरि दैनिक रूपमा गस्ती सुरू हुने डिआइजी गिरीले बताए । ‘सीमावर्ती क्षेत्रबाट हुने चोरी, तस्करी र अपराजधन्य गतिविधिहरूको सुष्म रूपमा अनुसन्धान गरेपछि गस्ती बढाउने हामीले निर्णाय गरेका हौं’ उनले भने, ‘यसअघि मातहतका प्रहरी कार्यालयहरूबाट खटिएका प्रहरीले गस्ती गर्दै आएकै थिए । त्यसैलाई व्यवस्थित गर्दै थप प्रहरी परिचालन गरि सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी बढाएर गस्ती बढाउन लागेका छौं ।’
सीमावर्ती क्षेत्रको गस्ती गर्न प्रहरी निरीक्षकको नेतृत्वमा ६ वटा टोली रहेको डिआइजी गिरीले बताए । ‘अहिले ६ वटा टोली बनाएर झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा गस्ती हुनेछ । आवश्यकता अनुसार थप पनि हुनेछ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी टोलीले चोरी, तस्करी र अपराधिक क्रियाकलापहरूको रोकथाम र नियन्त्रण पनि गर्ने छ ।’
भारतसँग सीमा जोडिएको तीन जिल्लामा सबैभन्दा धेरै झापामा रहेको छ । झापामा १४४ किलोमिटर, मोरङमा ६३ र सुनसरीमा ३२ किलोमिटर भारतसँग सीमा जोडिएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।