विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको बहुवर्षे सडक तथा पुलको भौतिक प्रगति ६० प्रतिशत रहेको जनाएको छ । प्रदेश १ प्रदेशसभामा बहुवर्षे आयोजनाको विस्तृत विवरण पेश गर्दै सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार प्रदेश सरकारले संचालन गरेको बहुवर्षे १०९ वटा पुलमध्ये हालसम्म ६७ वटा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा २५ वटा मात्रै सम्पन्न भएको थियो ।
यस्तै ६६ वटा सडकमध्ये हालसम्म ३ वटा सडक (२६ कि.मी.) निर्माण सम्पन्न भएको छ । भोजपुर, झापा र मोरङमा निर्माणाधीन एक–एक वटा सडक सम्पन्न भएका हुन् । मन्त्रीकार्कीले दिएको जानकारीअनुसार प्रदेश सरकारले ६६ वटा बहुवर्षे सडक र १०९ वटा पुल निर्माणका लागि सम्झौता गरेको छ । त्यसका लागि ३० अर्ब ५० करोड दायित्व सिर्जना भएकोमा अहिलेसम्म १६ अर्ब ८० करोड भुक्तानी गरिसकेको छ ।
यस चालू आर्थिक वर्षमा बहुवर्षीय ठेक्काहरुका लागि ४ अर्ब ५८ करोड विनियोजन गरिएको छ । उक्त रकम भुक्तानी गरिसक्दा पनि प्रदेश सरकारलाई ८ अर्ब ७२ करोड दायित्व रहने मन्त्री कार्कीले संसदमा जानकारी दिए ।
बहुवर्षीय सडक र पुलको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत रहेको सो मन्त्रालयले जनाएको छ । सबै सडकहरुको लम्बाई ८८२ दशमलव २१ किलोमिटर रहेको छ ।
सबैभन्दा बढी दायित्व भने पूर्वाधार विकास कार्यालय झापामा रहेको छ । झापामा २ अर्ब २५ करोड रुपैयाँ दायित्व रहेको छ । सबैभन्दा कम दायित्व पूर्वाधार विकास कार्यालय उदयपुरमा रहेको छ । उक्त कार्यालयको दायित्व १२ करोड ९१ लाख रुपैयाँ मात्रै रहेको छ ।
मन्त्री कार्कीले प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गतका विभिन्न ७ वटा पूर्वाधार विकास कार्यालयको विस्तृत विवरण समेत प्रस्तुत गरेका छन् ।
उनले प्रस्तुत गरेको विवरण अनुसार प्रदेश सरकारकाअनुसार सबैभन्दा लामो बहुवर्षीय सडक ओखलढुंगा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ रिङरोड (३२.३० कि.मि.) हो भने सबैभन्दा छोटो बहुवर्षीय सडक सुनसरी जिल्लाको भोक्राहा गाउँपालिकाको ढोप जाने बाटोमा पर्ने झोक्राहा बजार सडक (१.८१ कि.मी.) हो ।
पूर्वाधार विकास कार्यालय पाँचथर अन्तर्गत ५ वटा वहुवर्षीय सडक र ३ वटा बहुवर्षीय पुलहरु संचालनमा छन् । जसमध्ये पाँचथरमा ३ वटा वहुवर्षे सडक (३५.३७ कि.मि. ) र २ वटा बहुवर्षीय पुल रहेका छन् । यस्तै ताप्लेजुङमा २ वटा वहुवर्षीय सडक (१४.७३५ किमी) र एउटा वहुवर्षीय पुल रहेको छ ।
पूर्वाधार विकास कार्यालय पाँचथरको दायित्व १ अर्ब १५ करोड रहेको छ । यस्तै पूर्वाधार विकास कार्यालय झापाअन्तर्गत १६ वटा बहुवर्षीय सडकहरु र २५ वटा पुल रहेका छन् । जसमध्ये झापामा ११ वटा सडक (१७०.१२ किमी) र १६ वटा पुल रहेका छन् ।
यस्तै इलाममा ५ वटा बहुवर्षीय सडक (११९.९३ कि.मी.) र ९ वटा वहुवर्षीय पुलहरु संचालनमा रहेका छन् । पूर्वाधार विकास कार्यालय, झापाको बाँकी बहुवर्षीय सडक र पुलको दायित्व २ अर्ब २५ करोड रहेको छ ।
यस्तै पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत भोजपुरमा ३ वटा बहुवर्षीय सडक (४० कि.मि.) र ८ वटा पुल संचालनमा रहेका छन् । सोही कार्यालय अन्तर्गत धनकुटामा २ वटा बहुवर्षीय सडक (३५.३६ कि.मी.) र २ वटा वहुवर्षीय पुल संचालनमा रहेको छ । सो कार्यालयले बाँकी बहुवर्षीय सडक र पुलको दायित्व ९५ करोड ८३ लाख रहेको छ ।
यस्तै पूर्वाधार विकास कार्यालय संखुवासभा अन्तर्गत संखुवासभामा २ वटा बहुवर्षीय सडक (३३.६५ कि.मि.) र २ वटा पुल रहेका छन् भने तेह्रथुम जिल्लामा २ वटा बहुवर्षीय सडक (३३.६३ कि.मी.) र एउटा वटा वहुवर्षीय पुल संचालनमा रहेको छ । जसको बाँकी दायित्व १ अर्ब १४ करोड रहेको छ ।
पूर्वाधार विकास कार्यालय मोरङ अन्तर्गत २१ वटा बहुवर्षीय सडक र २१ वटा पुल रहेका छन् । सोमध्ये मोरङमामात्रै १३ वटा सडक (१७० कि.मि.) र १५ वटा पुल रहेका छन् । सुनसरीमा भने ८ वटा बहुवर्षीय सडक (७९.७८ कि.मी) र ६ वटा पुल संचालनमा रहेका छन् । पूर्वाधार विकास कार्यालय मोरङको बाँकी दायित्व १ अर्ब ९९ करोड रहेको छ ।
यस्तै पूर्वाधार विकास कार्यालय उदयपुर अन्तर्गत ६ वटा सडक र ७ वटा पुलहरु संचालनमा छन् । सोमध्ये उदयपुर जिल्लामा ४ वटा बहुवर्षे सडक (८४.३४ कि.मि.) र तीन वटा पुल संचालनमा छन् । यस्तै खोटाङमा २ वटा वहुवर्षे सडक (४०.०० कि.मि.) र ४ वटा पुल संचालनमा रहेको छ । पूर्वाधार विकास कार्यालय उदयपुरलाई यी योजनाका लागि १२ करोड ९१ लाख रुपैयाँ दायित्व बाँकी छ ।
यस्तै पूर्वाधार विकास कार्यालय ओखलढुंगा अन्तर्गत ४ वटा वहुवर्षे सडक र ५ वटा पुल रहेका छन् । जसमध्ये ओखलढुंगामा २ वटा वहुवर्षे सडक (४३.१९ कि.मी.) र सोलुखुम्बुमा २ वटा वहुवर्षे सडक (२२.५३ कि.मी.) संचालनमा छन् भने ओखलढुंगामा २ वटा पुल र सोलुखुम्बुमा ३ वटा बहुवर्षे पुल संचालनमा रहेका छन् । पूर्वाधार विकास कार्यालय ओखलढुंगाको बाँकी बहुवर्षे दायित्व ७३ करोड ५८ लाख रहेको छ ।

