विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्वारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले बताएका छन् ।
विराट साहित्य सङ्गमले आयोजना गरेको खाली खुट्टा परिचर्चा कार्यक्रमका वक्ताहरुले यस पुस्तकले संघर्ष गर्न सिकाउने बताएका हुन् । टिकाराम पुरीले आफ्नो संघर्षमा आधारित पुस्तक खाली खुट्टा गत चैत ९ गते विमोचन गरेका थिए ।
‘यो किताबले सबैलाई प्रेरित गर्छ, सकारात्मक सोचका साथ अघि बढ्नका लागि प्रेरित गर्छ, आशा जगाउनका लागि प्रेरित गर्छ,’ विराट साहित्य सङ्गमले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्राज्ञ खेम नेपालीले भने, ‘उहाँले आँखा खुला राखेर सपना देख्छु भन्नु भएको छ, आज त्यो सपनाको पछाडि हिडेर सफल हुनु भएको छ, यो सफलताले संघर्ष गर्न सिकाउँछ ।’
विश्लेषक दिनेश श्रेष्ठले खाली खुट्टामा समावेश भएका विषयले राजनीतिक संस्कार र समाज सुधारका लागि सन्देश दिएको बताए । पुस्तक अत्यन्तै पारदर्शी भएर पुरी प्रस्तुत भएको उल्लेख गर्दै उनले भने, ‘संघर्षका विषय लेख्दा पाठकलाई ढाँट्नु भएको छैन, यो नै सर्वाधिक शक्तिशाली पक्ष हो ।’
साहित्यकार रामबाबु दाहालले चार वर्षमा पितृ वियोगबाट सुरु भएको दुःखदेखि सफलताको समयसम्मको विषय पुस्तकमा समेटिएको उल्लेख गर्दै पुस्तक पढ्दा पाठकलाई प्रेरणा दिने बताए । साहित्यकार ताराबहादुर बुढाथोकीले पुस्तकमा समेटिएका विषयले सबैलाई प्रेरणा मिल्ने बताए ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले पुस्तकले समाजलाई निरन्तर मेहनत गर्दा गन्तव्यमा पुगिन्छ भन्ने सन्देश प्रवाह गरेको बताए । पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्कीले पुस्तकको मुख्य उद्देश्य संघर्ष गरे सफल हुन सकिन्छ भन्ने रहेको बताए ।
लेखक टिकाराम पुरीले संघर्ष गर्नेहरुका लागि आफ्नो संघर्षको कथाले अघि बढ्नका लागि मद्दत पुग्ने विश्वास आफूले राखेको बताए । आफ्नो भोगाईसँगै राजनीतिक विषय पनि पुस्तकमा समावेश गरेको उनले बताए ।

