डा.शेखरले भने : विराटनगरको खबर राम्रो छैन

विराटनगर । गठबन्धनको विपक्षमा वकालत गर्दै आएका नेपाली कांग्रेसको नेता डा.शेखर कोइरालाले विराटनगरको अवस्था राम्रो नभएको भन्दै गठबन्धन दलहरुसँग छलफल अगाडि बढाएका छन् ।

कोइरालाले सोमबार विराटनगरमा नेकपा माओवादी केन्द्रका नेताहरुलाई निवासमै बोलाएर मिलेर जानुपर्ने धारणा राखेका हुन् । विराटनगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले निक्कै भोट काट्ने आँकलनसहित कोइरालाको सक्रियता बढेको हो ।

महानगरमा माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले पनि बागी उम्मेदवारी दिएकी छिन् । यसअघिको निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धन गरेका यादव र न्यौपानेले एउटै चुनाव चिन्ह लालटिन पाएपछि धेरैले तेस्रो दलको रुपमा अथ्र्याउन थालेका छन् ।

महानगरमा गठबन्धनले मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । तर, वडा तहमा काँग्रेस गठबन्धन गर्न तयार नभएपछि गठबन्धनमा आबद्ध दल माओवादी र एकीकृत समाजवादी बिच्किएको बेला डा. कोइरालाले असन्तुष्टि मत्थर पार्ने अभियान थालेका हुन् ।

कोइरालाले माओवादी केन्द्र विराटनगरका सहइञ्चार्ज भोगेन्द्र यादव र अध्यक्ष नविन पौडेललाई भेट गरेर गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । ‘भेटका अवसरमा खबर कस्तो छ भनेर उहाँले सोध्नुभयो, हामीले राम्रो छ भन्यौं,’ भेटबारे जानकारी दिँदै माओवादी नेता यादवले भने, ‘उहाँले केको राम्रो हुनु ? नराम्रो छ भन्नुभयो ।’

कोइरालाले केन्द्रमा गठबन्धनले गरेको सहमति अनुसार प्रमुखमा भोट दिने वातावरण बनाउन आग्रह गरेका थिए । ‘हामीले हाम्रो पार्टीको मेयर पनि छैन, उपमेयर पनि छैन, वडा पनि तपाइँहरुकै कारण मिल्न सकेन, हामी हाम्रो भोट स्वतन्त्र ढंगले हाल्छौं भन्यौं’ यादवले भने ।

माओवादीका महानगर अध्यक्ष पौडेलले विराटनगरमा अहिलेसम्म काँग्रेसले गठबन्धनको आवश्यकता नदेखेको र छलफल नगरेको बताए । ‘आज शेखर कोइरालाले बोलाएको बाहेक कुनै प्रकारको छलफल भएको छैन’ उनले भने, ‘गठबन्धनमा समझदारीको बातावारण बनोस् भन्ने हाम्रो पनि चाहना हो ।’

भेटका अवसरमा कोइरालाले विराटनगरको ६ नम्बर वडामा माओवादीलाई सघाएर जाने आशय व्यक्त गरेका थिए । जवाफमा माओवादी नेता पौडेलले ६ नम्बरमा माओवादीलाई कसैको सहयोग नचाहिने भन्दै अन्य वडामा मिलाउने प्रयास भए गठबन्धन सहज हुने बताएका थिए ।

कांग्रेसका नेता डा.कोइरालाको सचिवालयले भने कोइराला र माओवादी नेताबीच त्यस खालको कुराकानी नभएको दावी गरेको छ । कोइरालाका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लैले विजय प्राप्त गरेको विराटनगर महानगरपालिकामा अहिले अवस्था खराब हुने कुरै नभएको बताउँदै भेटघाटका क्रममा त्यस्तो कुनैपनि अभिव्यक्ति डा.कोइरालाले नदिएको जिकिर गरेका छन् ।

गठबन्धनका बिषयमा कुराकानी गर्न नेकपा माओवादी केन्द्रका नेताहरु भोगेन्द्र यादव र नविन पौडेल विराटनगरस्थित कोइराला निवास आएको र गठबन्धनका बारेमा सामान्य कुराकानी भएको थपलियाको भनाइ छ ।

सोमबार, १९ बैशाख, २०७९, साँझको ०६:४१ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर