न्यौपानेको बाचा ‘आफ्नै गाडी चढ्छु, महानगरबाट कुनै सुविधा लिन्न’

विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले महानगरपालिकाको कुनै पनि सेवा सुविधा नलिने बाचा गरेकी छन् ।

नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएर उपमेयर पदमा उम्मेदवारी दिएकी न्यौपानेले चुनाव जितेपछि नगरपालिकाले दिने सेवा सुविधा नलिने घोषणा गरेकी हुन् । नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा सोमवार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै न्यौपानेले नगरपालिकाको गाडी इन्धन लगायत कुनैपनि आर्थिक सुविधा नलिने र सुशासन कायम गर्न पहिलो दिनबाटै क्रियाशील हुने बताएकी हुन् । ‘म अहिले पनि गाडी चढिरहेकै छु निर्वाचित भएपछि पनि आफ्नै निजी गाडी प्रयोग गर्छु, इन्धन पनि आफ्नै प्रयोग गर्छु,’ उनले भनिन् ‘म भ्रष्टाचार गर्दिन र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न ।’

महानगरपालिकाको कुनै पनि सेवा सुविधा, तलब–भत्ता नलिने र महानगरलाई राजनीतिक भर्ती केन्द्रबाट मुक्त बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको न्यौपानेले बताइन् । विराटनगर महानगरपालिकामा बेथितिको चाङ छ,’ उनले भनिन् ‘विराटनगर महानगर राजनीतिक भर्ती केन्द्र बनेको छ । बेथिति रोक्ने मेरो पहिलो काम हुने छ ।’

सविधानलेनै प्रमुख तथा उप प्रमुख मध्ये १ जना महिलालाई अनिवार्य गरे पनि गठबन्धनले लैङ्गिक सन्तुलन नमिलाई दुवै पुरुषलाई अगाडि सारेका कारण अन्तिम समयमा आफूले उम्मेदवारी दिएको उनले बताइन् । ‘गठबन्धनको नाममा महिलाको भाग खोस्न पाइदैन भनेर मैले यस्तो निर्णय लिएकी हुँ ।’

न्यौपानेले पार्टीबाट आफू अलग भएको पनि बताएकी छन् । विराटनगरमा पुरुष भन्दा महिला मतदाता धेरै हुँदा पनि दलहरूले महिलालाई बेवास्ता गरेको उनको आरोप रहेको छ । ’५५ प्रतिशत महिला मतदाता रहेको विराटनगरमा प्रमुख तथा उप प्रमुखमा महिलालाई स्थान दिइएको छैन,’ उनले भनिन् ‘दलहरूले महिला माथि भेदभाव गरेपछि उम्मेदवारी दिएको हुँ ।’

गत चुनावमा उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १४६ मत ल्याउँदा न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन् तत्कालीन संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । न्यौपानेले गत चुनावमा १९ हजार मत बदर हुँदा आफूले हार बेहोर्नु परेको बताइन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा घोषणपत्र जारी गर्दै उनले मेयरको सहयोगी भएर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेकी छन् । महानगरको न्यायिक समिति र इजलाशलाई लाई प्रभावकारी बनाउने, मुद्दाहरुलाई सकेसम्म अदालत पुग्न नदिने गरी सहमतिको वातावरण बनाउने, महानगरको सुधारका लागि आवश्यक पर्ने कानुनहरु बनाउने कार्य आफ्नो प्राथमिकतामा रहेको उनले बताइन् ।

शिक्षामा सुधार गर्ने, सरकारी विद्यालयहरुको पूर्वाधार विकास गरी त्यसको स्तरवृद्धि गर्ने र कोसी अस्पताललाई व्यवस्थित बनाई महानगरका नागरिकहरुले विशेष सेवा लिन सहज हुने गरी आवश्यक समन्वय र विकास गर्ने कामलाई पनि उनले प्राथमिकतामा राखेकी छन् ।

महानगरको समग्र विकासका योजनाहरुमा ध्यान दिँदै विकास योजनाहरुको गुणस्तरमा कमजोरी हुन नदिन प्रभावकारी अनुगमन प्रणालीको विकास गर्ने उनले बताइन् । विराटनगरको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने, महिलाहरुलाई उद्यमशील बनाउने, रोजगारी सिर्जना गर्ने र महिला तथा किशोरी स्वास्थ्य आदि विषयमा विशेष कार्यक्रम बनाएर काम गर्ने विषयलाई उनले प्रतिवद्धतापत्रमा समावेश गरेकी छन् ।

 

सोमबार, १९ बैशाख, २०७९, साँझको ०६:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर