विराटनगर । सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिकाभित्रका सबै सरकारी विद्यालय बन्द गराएका छन् । आर्थिक वर्ष २०७८–७९ को बजेटमा शिक्षिका र कर्मचारीले खाइरहेको तलबमा दुई हजार सरकारले थप गरिदिने र बाँकी सात हजार स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने भने पनि तोकिएको सुविधा नपाएको भन्दै उनीहरूले विद्यालय नै बन्द गराएका हुन् ।
नगर प्रमुखलाई पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक सोनु मगर ढुंगेलले बताइन् । उनले आन्दोलनको बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइन् ।
गत साउनदेखि नै अन्य पालिका, जिल्लामा लागू हुँदा इनरुवामा लागू नहुनुले स्थानीय सरकार नै श्रम शोषण गर्न लागिपरेको आन्दोलनरत पक्षको आरोप छ । पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता भएपछि धर्ना, आन्दोलन हुँदै विद्यालय नै बन्द गर्न बाध्य भएको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले भने नगर कार्यपालिकाबाट आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने बताए । आम्दानीको स्रोत जुटाउन समस्या भएकै कारण सरकारले तोकेअनुरूप दिन नसकिएको उनको भनाइ छ । इनरुवा नगरपालिकामा बालबालिका केन्द्रमा ८५ जना र विद्यालय कर्मचारी ६५ जना छन् । विद्यालय बन्द गराएपछि ३० वटा विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।

