विराटनगर । आज बिहान धरानको एक होटलमा मृत अवस्थामा फेला परेकी महिलाको सनाखत भएको छ ।मृतक महिलाको छोरा र छोरीबाट शवको पहिचान भएको हो । मृतक पाँचथरको मिक्लाजुङ-१ की ३९ वर्षीय सुमित्रा तामाङ रहेको पुष्टि भएको छ ।

उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा विगत ४,५ वर्ष देखि बसोबास गर्दै आएको उनका छोराछोरीले बताएका छन् । मृतकसँगै भेटिएको नागरिताको आधारमा मृतकका छोराछोरीलाई प्रहरीले धरान झिकाउन सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए।

मृतकको शवको मुचुल्का उठाएर अहिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृह लगिएको डिएसपी कुँवरले बताए ।
डिएसपी कुँवरका अनुसार मृतकको अनुहारमा चोट लागेकोले उनको हत्या भएको हुन सक्ने भन्दै उनीसँगै बस्दै आएका पुरुषको प्रहरीले खोजी गरिरहेको छ ।

धरान उपमहानगरपालिका-१७ स्थित कान्तिपुर गेष्ट हाउस एन्ड लजमा उनीहरू फागुन १५ गते आएर बसेका थिए।‘मंगलबार राति हत्या गरेर पुरुष फरार भएको बुझिएको छ,’ कुँवरले भने। घटना बारे थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

तस्वीर : खेमराज देवान