विराटनगर । सोलुखुम्बुमा निर्माणाधीन हाइड्रोपावरले स्थानीय बासिन्दासँग गरेको सहमति कार्यान्वयन नगर्दा हाइड्रोपावरको काम बन्द भएको छ ।
जिल्लाको महाकुलुङ र सोताङ गाउँपालिकामा निर्माणाधीन हाइड्रोपावरको काम सात दिनदेखि पूर्णरुपमा बन्द भएको हो ।
हाइड्रोपावरले स्थानीय बासिन्दासँग गरेको सहमति कार्यान्वयन नगर्दा सोताङ महाकुलुङ सरोकार समितिले निर्माणकार्य पूर्णरुपमा बन्द गरेको जनाएको छ ।
गएको भदौदेखि आयोजनाले श्रमिकको ज्याला नदिनुका साथै सामाजिक उत्तरदायित्वको कामहरु समेत कुनै पनि पूरा गर्न नसकेकाले काम रोक्न बाध्य हुनुपरेको सरोकार समितिका संयोजक विक्रान्त कुलुङले बताए ।
स्थानीय बासिन्दासँग पटक पटक गरेको सहमति कार्यान्वयनको लागि गएको ८ गते तीन दिने अल्टिमेटमसहित १७ बुँदे माग पेस गरेको समितिले ११ गतेदेखि अति आवश्यक बाहेकको काम बन्द गरेको जनाएको छ ।
आयोजनाका कारण अति जोखिममा परेका पाँच घरपरिवारलाई राहतको व्यवस्था गरिनुपर्ने, स्थानीय बासिन्दाकोको क्षमता अनुसार रोजगारी पाउनुपर्ने र सार्वजनिक सुनवाइ समेतको कार्यक्रम गरिनुपर्ने लगायतको माग सरोकार समितिले राखेको छ ।

