विराटनगर । सुनसरीको बर्जु गाउँपालिका २ रामगंज बेलगछियाका एक जना युवाको रहमस्य तरिकाले मृत्यु भएको घटनामा प्रहरीले गहन रुपमा अनुसन्धान नगर्दा न्याय नपाएको मृतकका आफन्तले गुनासो गरेका छन् ।
२० कार्तिकमा बर्जु गाउँपालिका २ का २० वर्षीय निकेश कुमार रायको विराटनगर १६ खादमपुलमा मृत फेला परेका थिए । निकेशको रहमस्यमय तरिकाले मृत्यु भएको घटनमा प्रहरीले प्रशासनले अनुसन्धान अगाडी नबढाउँदा न्याय पाउनबाट बन्चित हुनुपरेको मृतकका आमा सीता देवी रायले गुनासो गरेकी छिन् । उनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरि छोराको रहमस्य तरिकाले मृत्यु भएको घटनामा प्रहरी प्रशासनले गम्भिरता पुर्वक अनुसन्धान प्रक्रिया अगाडी नबढाउँदा न्यायबाट बन्चित हुनुपर्ने अवस्था सृजना भएको आरोप लगाइन् ।
‘छोराको शव भेटिएको ठाउँ विराटनगर १६ रहेकोले हामीले घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको माग राख्दै इलका प्रहरी कार्यालय रानी विराटनगरमा जाहेरी दिन पुगेका थियौ,’ उनले भनिन्, ‘त्यसबेला हामीले तीन जनाको नाम उल्लेख गरि किटानी जाहेरी दिएका थियौ । तर, हाम्रो जाहेरी प्रहरीले लिएन । लागूऔषध सेवन गरेर मरेको भन्दै प्रहरीले अनुसन्धान प्रक्रिया अहिले अगाडी बढाएको छैन ।’
मृतकका परिवारले छोरासँगै गएका मिथिलेश राय, गौतम राय र कोमल विश्वकर्मालाई लिएर अनुसन्धान गरे घटनाको सत्यतथ्य बाहिर आउने बताएका छन् । ‘अहिलेसम्म उनीहरुलाई प्रहरी कार्यालयसम्म ल्याएर सोधपुछ पनि प्रहरीले गरेको छैन,’ मृतकका आमा सीतादेवी भनिन्, ‘छोराको शरिरको विभिन्न भागमा चोटपटक लागेकोले हत्या गरेको हुनसक्छ । घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कारवाहीको दायारमा ल्यानुपर्ने पर्दछ ।’
मोरङ प्रहरीका अनुसार कोशी अस्पतालमा गरिएको पोस्मार्टम रिपोर्ट अनुसार निकेशको लागूऔषधको कारणले मृत्यु भएको देखाएको छ । ‘भिसेरा पनि पढाएका छौं । त्यसको रिपोर्ट आइसकेको छैन,’ इप्रका रानीका प्रहरी निरीक्षक प्रकाश राउतले भने, ‘यस घटनको अनुसन्धान भइरहेको छ ।’

