विर्तामोड । फागुन २१ गतेबाट झापाको विर्तामोडमा संचालन हुने झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।
प्रतियोगिताको लगभग तयारी सकिएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताए । प्रपितयोगिता डोमालाल रंगशालामा हुनेछ ।
कोरोना भाइरसको संक्रमण तीव्र हुँदा खेल सौन्दर्यका रुपमा रहेका दर्शकको सहभागिता हुन नसक्ने भएपछि दुई वर्षदेखि झापा गोल्डकप प्रतियोगिता सञ्चालन हुन सकिरहेको थिएन । संक्रमण दर घट्दै गएपछि यो वर्ष पाँचौ संस्करणको झापा गोल्डकप सञ्चालनको तयारी गरिएको हो ।
अघिल्ला संस्करणमा झै यो वर्ष पनि कम्तीमा १० हजार दर्शक अट्न सक्नेगरी प्याराफिट बनाइएको छ । झापाको भौगोलिक अवस्था र फुटबलप्रतिको लगावलाई समेटेर गोल्डकपको छुट्टै गीत समेत तयार गरिएको छ । प्रतियोगिताका लागि हात्तीको छावाले फुटबल हान्दै गरेको मस्कट सार्वजनिक गरिएको छ ।
झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित नेपालका ८ र दुई विदेशी गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा चौधरी ग्रुप रहेको झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए ।