विराटनगर । प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतलाई पदबाट हटाउने प्रक्रिया सुरु गरेको छ ।
सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्ने प्रयोजनको लागि मंगलबार स्पष्टीकरण सोधेका छन् ।
भीम आचार्य नेतृत्वको प्रदेश सरकारले विवादास्पद पृष्ठभूमिका बस्नेतलाई खेलकुद बोर्डको सदस्य सचिव नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकबाटै आचार्य नेतृत्वको सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो ।
तर, तीन महिनापछि मात्रै सरकारले बसनेतलाई प्रष्टीकरण सोधेको हो । तीन दिनअघि मात्रै सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाएका राईले उनको नियुक्तिमै प्रश्न उठाउँदै तीन दिनभित्र प्रष्टीकरण पेश गर्न निर्देशन दिएका छन् ।
प्रदेश खेलकुद बोर्डको सदस्य सचिव बन्ने मापदण्ड पूरा नगरेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै उनलाई प्रष्टीकरण सोधिएको हो । सदस्य सचिव नियुक्त हुन कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान गरेको हुनुपर्ने र स्वच्छ छविको हुनुपर्ने कानूनी व्यवस्था छ । त्यसलाई वेवास्ता गर्दै बस्नेतलाई सदस्य सचिब नियुक्त गरिएको थियो ।