काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।
यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतिले एमसीसी पारित गर्नुपर्ने आफ्नो धारणा सामाजिक संजालमा सार्वजनिक गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका लागि सत्ता गठबन्धन टुटाउने चेतावनी दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईको यो धारणा सार्वजनिक भएको हो । प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गराउने पहल थालिसकेका छन् ।
सत्ता गठन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले भने जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने बताउँदै आएका छन् ।


