विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीको महाधिवेशन सकिसकेकाले गुटउपगुट बिर्सेर तीन तहको निर्वाचनमा जुट्नुपर्ने बताएकी छन् ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर नेतृ संग्रौलाले महाधिवेशनको प्रकृयामा पार्टी नेतृत्वका लागि भएको प्रतिस्पर्धामा बिजेता र उपविजेताहरु एकजुट भएर आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो स्थानमा पु¥याउनु पर्ने दायित्व मिलेर पूरा गर्नुपर्ने बताएकी हुन् ।
तीनै तहको निर्वाचन नजिकै आइपुगेकोले देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउँन काँग्रेसको नेतृत्व जरुरी भएको संग्रौलाको भनाइ थियो । कम्युनिष्टहरुले मुलु्कको नेतृत्व गर्न नसक्ने बताउँदै संग्रौलाले दुईतिहाई मत प्राप्त गरेका कम्युनिष्टहरुले सरकार चलाउन नसकोले अब पनि उनीहरुबाट देशको विकास र समृद्धि सम्भव छैन भन्ने प्रष्ट भएकोले काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताइन् ।
‘अब तीनै तहका निर्वाचनमा अर्जुनदृष्टि लगाउनु पर्छ,’ नेतृ संग्रौलाले भनिन् ‘अब मुलुकलाई नयाँ ढंगले अघि बढाउने जिम्मेवारी कांग्रेसको हो, पार्टी एकताबद्ध भएर सक्रिय हुनुपर्छ ।’
संविधानको सर्वाेच्चता बचाउन समयको आवश्यकताअनुसार कांग्रेसले सरकारको नेतृत्व गरेको उनको भनाइ थियो ।
आगामी निर्वाचन काँग्रेस एक्लैले लड्नु पर्ने भन्दै उनले विगतमा गठबन्धन गरेर जाँदा आफूहरु प्रतिपक्षमा पुगेका कारण यस पटक फेरी अरुलाई लाभ हुने गरी निर्णय लिन नहुने आफ्नो व्यक्तिगत धारणा रहेको सुनाइन् । यद्यपि पार्टीले गर्ने निर्णयलाई सबैले कार्यान्वयन गरेर चल्नु पर्ने उनले बताइन् । गठबन्धन सरकारले तीनै तहको निर्वाचन गर्ने तर चुनावमा गठबन्धन मिलेरै जान भने आवश्यक नहुने उनको टिप्पणी गथियो ।

