विराटनगर । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना अन्तर्गत ४०० केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ ।

आज खाँदबारी नगरपालिका–३ चिसोपानी गुम्बामा स्थानीय जग्गादाताहरुको ६ सय जनाभन्दा बढीको भेलाले ‘अरुण तेस्रो ४००केभी प्रशारण लाइन मुआब्जा सरोकार समिति’ गठन गरिएको हो । भेलाले ३९ सदस्यीय समिति गठन गरेको छ ।

समितिको अध्यक्षमा किशोरकुमार गुरुङलाई सर्वसम्मत चयन गरिएको छ ।

उनले अरुण तेस्रोको पावरहाउस पुखुवादेखि दिदिङ, छयाङकुटीडाँडा हुर्दै चिसोपानी गुम्बा हुँदैै सशस्त्र क्याम्पबाट चेवाबेसी हुँदै भोजपुर–खोटाङ लैजाने हाइटेन्सन लाइनको मुआब्जा बारेमा स्पष्ट नभएकाले सरोकार समिति गठन गरिएको स्पष्ट पारे।

हाइटेन्सन लाइनमा चिचिला गाउँपालिका भित्रका वडा नम्बर १, २ र ३ पर्छ भने खाँदबारी नगरपालिका भित्रका वडा नम्बर ४, ३, २ र १ पर्छ । सात वटा वडाभित्रका करिब ५९४ घरधुरीको जग्गा पर्छ । त्यसैले ती जग्जाधनीहरुलाई मुआब्जा बापत उचित क्षतिपूर्ति दिनुपर्ने भेलाको माग छ ।

अरुण तेस्रोले अहिले हाइटेन्सनको टावर बस्ने जग्गा मात्रै पास गरेर लिइ त्यसको मात्रै मुआब्जा दिने भन्ने बुझिएकाले त्यसमा स्थानीयको आपत्ति रहेको अध्यक्ष गुरुङले बताए ।

उनले भने (‘टावर बस्ने क्षेत्रको करिब ४६ मिटर जग्गा टावरले कभर गर्छ । त्यसको चाँहि २५ प्रतिशत मात्रै मुआब्जा दिइ पास नगर्ने भन्ने तयारी बुझिएकाले जग्गाधनीहरुलाई त्यो मान्य नभएको भेलाले निर्णय गरेको छ । हाइटेन्सनमुनिको जग्गाको पनि मुआब्जा दिनुपर्छ । हाइटेन्सन मुनि घरटहरा बनाउन नमिल्ने र खेतीपाती गर्न समेत समस्या हुन्छ ।’

अरुण तेस्रोको काम तीव्र गतिमा भइरहेको छ । भारतीय सतलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ । देशको नै बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नौ सय मेगावाट विद्युत् उत्पादन हुने जनाएको छ । सन् २०२३ मा सम्पन्न गर्ने सतलज कम्पनीले जनाएको छ ।