विराटनगर । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सात वटा प्रदेशमध्ये प्रदेश १ मा ६ जना उम्मेद्वारको नामको टुंगो लागेको छ ।

टुंगो लागेका उम्मेद्वारहरूमा नेकपा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैगरी गठबन्धनबाट खुल्लातर्फ नेपाली काँग्रेसका गोपाल बस्नेत(झापा), महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई(भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भएका/अल्पसंख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राईको नाम टुंगो लागेको छ ।

देशभर खाली हुन लागेका १९ राष्ट्रियसभा सदस्य पदको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यसुची रहेको छ । प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित भएका तीन जनाको पद रिक्त भएपछि हुनलागेको निर्वाचनमा पाँचदलीय गठबन्धन एमालेका लागि भारी पर्ने देखिएको हो ।

केन्द्रमा रहेको पाँचदलीय गठबन्धन बाहेक प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सामेल रहेकोले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको मतभार एमालेको भन्दा धेरै हुन पुगेको छ । सबै मतदाताले मतदानमा सहभागी भएमा र फ्लोर क्रस नभएमा प्रदेश १ का तीन वटै सिट गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ ।

कसको कति छ मतभार ?

स्थानीय तहका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता हुनेमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कार्वाही गरेपछि उनको पद रिक्त रहेको छ भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएको कारण २७२ जना मतदाता छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकोले स्थानीय तहका मतदाताको पद रिक्त छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी प्राबधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरि जम्मा मतभार ९ हजार ३१२ रहेको छ  । प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मतभार रहेको छ भने गठबन्धनको पाँचदलीय गठबन्धनमा आबद्ध दलहरुको कुल मतभार ४ हजार ६६८ देखिएको छ ।

राष्ट्रियसभा निर्वाचनको लागि प्रदेशमा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको २ हजार ७३६, नेकपा (माओवादी केन्द्र) को १ हजार ८, नेकपा (एकीकृत समाजवादी)को ६६०, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ ।

प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मतभार रहेको छ । राप्रपाको मत एमालेलाई गएको अवस्थामा पनि गठबन्धन २४ मतले अगाडि हुने देखिएको छ । प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष ७९ तहका उपाध्यक्ष र उपमेयर छन् । प्रदेशसभातर्फ एमालेको मतभार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको २ हजार ५५६ मतभार रहेको छ ।

यसैगरि नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । काँग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मतभार १ हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरि जम्मा मतभार २ हजार ७३६ छ ।

नेकपा (माओवादी केन्द्र) १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन् । माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जनाको मतभार २८८ सहित माओवादीको जम्मा मतभार १ हजार ८ छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका १० जना जनप्रतिनिधि छन् । स्थानीय तहका प्रमुख र अध्यक्ष ४ जना तथा उपप्रमुख र उपाध्यक्ष ६ जनाको मतभार १८० रहेको छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृत समाजवादीको जम्मा मतभार ६६० रहेको छ ।

प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार रहेको छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मतभार रहेको छ । प्रदेशसभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ ।