लोड हुँदैछ...

मेनु

समाचार प्रभाव : पूर्वमुख्यमन्त्री राईले फिर्ता गरे गाडी

समाचार प्रभाव : पूर्वमुख्यमन्त्री राईले फिर्ता गरे गाडी

विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले गैरकानूनी रुपमा प्रयोग गरिरहेको सरकारी गाडी चार महिनापछि फिर्ता गरेका छन् ।

पदमुक्त भएको चार महिना बितिसक्दा पनि आर्थिक मामिला तथा योजना मन्त्रालयको गाडी जबरजस्ती प्रयोग गरिरहेकोबारे हाम्रोमत दैनिक र हाम्रोमत अनलाईनले समाचार सार्वजनिक गरेको थियो । समाचार बाहिर आएपछि चर्काे आलोचना खेपेका राईले गाडी फिर्ता गरेका हुन् ।

पूर्वमुख्यमन्त्री राईले काठमाडौंमा नै गाडी फिर्ता गर्ने फोन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । राईले गाडी लिन आउनु भनेर फोन गरेको भएपनि अहिले मन्त्रालयमा गाडी आइसकेको छैन ।

मन्त्रालयबाट चालक पठाएर गाडी ल्याउने तयारीमा रहेको सचिब दाहालले बताए । मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पनि राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको नाममा रहेको को १ झ ५६५ नम्बरको निशान कम्पनीको टेरान गाडी प्रयोग गर्दै आएका थिए ।

तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेर आफैंले सो मन्त्रालयको जिम्मेवारी लिएपछि राईले उक्त गाडी मुख्यमन्त्री कार्यालयमा झिकाएर श्रीमति ज्याङ्मु इन शेर्पालाई चढ्न दिएका थिए । मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिएपछि राईले आफैं सो गाडी प्रयोग गरिरहेका थिए ।

राईले काठमाडौंमा स्थापना गरेको मूख्यमन्त्रीको सम्पर्क कार्यालयका सवारी चालकसहित गाडी प्रयोग गरिरहेकोमा अहिले कार्यालय खारेज भइसकेको छ भने सवारी चालक पनि कात्तिकबाट पदमुक्त भइसकेका छन् । आर्थिक मामिला मन्त्रालयले तीन वर्ष अगाडि करिब ८० लाख रूपैयाँमा खरिद गरेको सो गाडीका चालक जिन्दल राईले कात्तिकदेखिको तलब पनि नपाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।