विराटनगर। हिमपातका कारण तीन दिनदेखि सोलु(ओखलढुङ्गा सडक खण्ड बन्द भएको छ । सडक बन्द भएसँगै सोलुखुम्बुबाट काठमाण्डौसहित विभिन्न जिल्लाका लागि छुट्ने तथा जिल्ला भित्रिने गाडी सहित यात्रु अलपत्र परेका छन् ।
सडकमा बाक्लो हिउँ जमेका कारण गएको बुधवार बेलुकादेखि दुई जिल्ला बीचको सडक सम्पर्क टुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलुखुम्बुको पत्ताले क्षेत्रको सडकमा जमेको हिउँ डोजरले सोरेर आंशिक रुपमा सडक खुलाए पनि ओखलढुङ्गाको ठाडे क्षेत्रको सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।
पताले र ठाडे क्षेत्रको सडकमा करिब डेढ फिट जति हिउँ जमेको स्थानीयले बताएका छन् ।
सडकमा हिउँ जमेकाले दुर्घटनाको जोखिम उच्च भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भने भइरहेको छ ।