विराटनगर । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा बसेको जिल्ला कमिटीको बैठक युवा नेताहरूले बहिस्कार गरेका हुन् ।
पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका हुन् । जिल्ला कमिटी सचिवको आकांक्षी रबिन थापा र उपसचिवका आकांक्षी सन्तोष बान्तवा तथा प्रदेश कमिटी सदस्य पर्शुराम बस्नतेले बैठक बहिस्कार गरेका हुन् ।
जिल्ला कमिटी सदस्य सन्तोष बान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बैठक बहिस्कार गरेर हिँडेका प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले एमालेभित्र सच्चा राजनीति गर्नेलाई पाखा लगाउन खोजिएको आरोप लगाएका छन् । उनले आइतवार छुटै जिल्ला कमिटीको भेला गर्ने समेत बताए । बैठक बहिस्कार गर्ने नेताहरू भने एमाले अध्यक्ष केपी शर्मा ओली पक्षकै हुन् ।
जिल्ला अधिवेशनहरू २३ गते भित्रमा सम्पन्न गर्न नेकपा एमाले केन्द्रीय कमिटीले जिल्ला कमिटीहरूलाई परिपत्र गरिसकेको छ ।