विराटनगर  । प्रदेश १ कै सबैभन्दा ठूलो स्वास्थ्य प्रतिष्ठान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
उजुरीको खात लागेपछि आयोगले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार गर्ने कार्यादेशसहित अनुगमन समिति गठन गरेको थियो । समितिले धरानमा पुगेर तयार पारेको प्रतिवेदन आयोगलाई बुझाएको छ । स्थलगत अनुगमन टोलीले आयोगलाई प्रतिवेदन बुझाएको अख्तियारका प्रवक्ता (सह–सचिव) नारायणप्रसाद रिसालले बताए । प्रतिष्ठानमा भ्रष्टाचार भएको भन्दै आयोगमा करिब १ सयवटा उजुरी परेका छन् । अत्यधिक उजुरी आएपछि आयोगले समग्रमा हेरेर स्याम्पल परीक्षण गर्नका लागि प्राविधिकसहितको टिमलाई त्यहाँ पठाएको थियो ।
अनुगमन समितिले ‘प्रारम्भिक अनुसन्धानबाट प्रतिष्ठानमा भ्रष्टाचार भएको देखिएको’ निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । समितिले आयोगलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘विपी प्रतिष्ठानमा भएको अनियमितताका सम्बन्धमा थप विस्तृत अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’
आयोगको टोलीले प्रतिष्ठानको कागजात लिएर अध्ययन गरेको थियो । कागजात अध्ययन गर्दा वीपी प्रतिष्ठानमा पाँच ठाउँमा भ्रष्टाचार देखिएका छन् । भवन निर्माण, स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री खरिद, औषधि खरिद, नियुक्ति र प्रशासनिक काम कारबाहीमा समेत भ्रष्टाचार हुने गरेको आयोगको टोलीले ठहर गरेको छ । प्रशासनिक काम कारबाही र नियुक्तिमा प्रतिष्ठानका पदाधिकारीले कानुन विपरीत काम गरेको उजुरीकर्ताले दाबी गरेका छन् ।