प्रदेश १ मा मन्त्रीपरिषद् विस्तारको तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने समयलाई धकेलेर मन्त्रीपरिषद् विस्तारको तयारीमा लागेका हुन् ।

आज साँझसम्ममा मन्त्रीपरिषद् विस्तारको लागि छलफल भइरहेको मुख्यमन्त्री सचिवालय सदस्य अनिल राजधामीले बताए । अहिले मनमोहन पोलिटेक्निकको कार्यक्रममा सहभागी मुख्यमन्त्री आचार्य कार्यालयमा फर्किएपनि मन्त्रीमण्डल विस्तारको निर्णय लिनसक्ने उनले बताए । ‘छलफल भइरहेको छ आधा घण्टापछि निक्र्यौल हुन्छ,’ उनले भने, ‘आजै ५ बजेभित्रमा सफथग्रहण हुनसक्छ ।’

एमाले विभाजनसँगै मुख्यमन्त्री आचार्यले असोज २४ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । प्रदेशसभामा हाल एमालेका सभामुखसहित ४१ सदस्यमात्र कायम रहेको र अन्य कुनै विपक्षी दलहरुले समर्थन गर्ने सम्भावना नदेखिएकोले उनले विश्वासको मत पाउने सम्भावना छैन । यद्यपि बढीमा २४ दिनका लागि भएपनि मन्त्री नियुक्तिको तयारीमा उनी जुटेका हुन् । प्रदेशसभामा बहुमत सिद्ध गर्न ४७ सांसदको आवश्यकता पर्नेमा अहिले विपक्षी गठबन्धनमा ५० सांसद छन् ।

स्रोतका अनुसार मन्त्री हुनेमा संखुवासभाका तुलसी न्यौपाने, उदयपुरका बिमल कार्की, मोरङकी यशोदा अधिकारीलगायतको नाममा छलफल भइरहेको छ ।

बुधबार, ३० भदौ, २०७८, दिउँसोको ०३:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर