विराटनगर । नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका प्रदेश १ का १० जना एमाले सांसदको सनाखतलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको छ ।
आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८ को दफा ३३ को उपदफा २ क तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ दोस्रो संशोधन २०७८ को नियम ५ र नियम ७ क बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १० सदस्यका हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दोस्रो संशोधन अध्यादेश, २०७८० को दफा ३३ ९२ क बमोजिम दल त्याग गरेको नमानिने भएको हो ।
आयोगका अनुसार प्रदेश १ प्रदेशसभा सदस्यहरु राजन राई, खिनु लङ्वा लिम्बू, पदम कुमारी गुरुङ, गणेशबहादुर कामवाङ, सुनिताकुमारी चौधरी, साबित्रा कुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र राजेन्द्रकुमार राई अब नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम रहने भएका हुन् ।
यी सांसदको सनाखत सदर भएपछि प्रदेश १ मा नयाँ सरकार निर्माणको बाटो पनि खुला भएको छ । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका सांसदले मान्यता पाएपछि नयाँ सरकार निर्माणको काम औपचारिक रुपमा थाल्ने जनाएका हुन् ।