काठमाडौं । प्रमुख प्रतिपक्षी तथा संघीय संसदको सबैभन्दा ठूलो दल संसदमा निरिह देखिएको छ ।

केही महिना अगाडिसम्म दुईतिहाई मतका साथ सरकार संचालन गरिरहेको एमाले अहिले संसदको रोष्ट्रमा उभिएर विरोध गर्ने हैसियतमा झरेको छ ।

आज बसेको संसद बैठक दुई पटकसम्म अवरोध गरेपनि एमालेले तेस्रो पटक अवरोध गरे पनि उसको माग पुरा नभइ संसद संचालन भएको छ । अवरोध र हल्लाकाबीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने प्रयास गरेको थियो । तर, एमालेको अवरोधकाबीच सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए ।

एमालेको अवरोधका कारण अघिल्ला दुईवटा बैठक सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेका थिए । तेस्रो बैठकको सुरुमा नै एमाले सांसदको अवरोध र नाराबाजी छल्दै गृहमन्त्री खाँड रोष्टममा पुगेर अध्यादेश पेश गरेका हुन् ।