प्रदेश १ : १४ जिल्लामा कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने

विराटनगर । प्रदेश १ सरकार मन्त्रीपरिषद् बैठकले सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

प्रदेश –१ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा गुणस्तरीय र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

कार्यालयका सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रत्येक जिल्लामा एकीकृत संगठन संरचना तयार गरि सेवा प्रवाह गर्ने निर्णय गरेको हो । प्रदेश भरका कृषकहरुको सहजताका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहने यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिए ।

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लाका पूर्वाधार विकास कार्यालयहरु स्थापना गर्ने निर्णय पनि भएको छ । यस अन्तर्गत सडक, शहरी विकास, झोलुङ्गे पुल तथा पक्की पुललगायतका काम पर्दछन् । यस्तै खानेपानी, सिचाई, उर्जा, जलश्रोतलगायतका विषयका काम कारवाहीलाई प्रभावकारी बनाउन १४ वटै जिल्लामा खानेपानी तथा जलश्रोत व्यवस्थापन कार्यालयको स्थापना गर्ने निर्णय गरिएको छ ।

यसअघि मन्त्रि परिषदको बैठकले यातायात व्यवस्था र मालपोत कार्यालयको गुणस्तरिय सेवा प्रवाहका लागि अनलाइन प्रणालीमा सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

बुधबार, २३ भदौ, २०७८, साँझको ०६:२८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर