काठमाडौं । नेकपा एमाले विभाजनका लागि सहज बनाउन संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको संघीय सरकारले पुनः संसदको अधिवेशन बोलाउने तयारी सुरु गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अधिवेशन बोलाउनेबारे सभामुख र सत्तारुढ दलका नेताहरुसँग छलफल गरेका छन् ।
सभामुख सापकोटा तथा सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री देउवाले आज बिहान छलफल गरेका छन् ।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको पनि सहभागीता थियो । कार्कीले संसद अधिवेशन बोलाउनेबारे छलफल भएको संचारकर्मीलाई जानकारी दिए ।
छलफलको क्रममा गठबन्धनको एकता, सरकारका कामकारबाहीमा प्रभावकारिता र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय पनि कुराकानी भएको थियो ।