अग्निपरीक्षामा मुख्मयन्त्री आचार्य ! माननीयज्यू फोटोले काम गर्ला ?

प्रदेश १ मा सार्वजनिक विदाको कारण मङ्गलबार दल रोज्न नपाएका एमालेका १० सांसदहरू बुधबार निर्वाचन आयोग जाने तरखरमा

विराटनगर । विभाजित बनेको नेकपा एमाले सुदुरपश्चिमका १० र बाग्मतीका १२ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजे । योसँगै बाग्मती सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार संकटमा परेको छ ।

प्रदेश १ मा पनि आज सार्वजनिक विदा भएको कारण एमालेका सांसदहरु समाजवादीमा जानेगरी निर्वाचन आयोगमा सनाखत गर्न पाएनन् । तर, मङ्गलबार दल रोज्न नपाएका एमालेका १० सांसदहरू बुधबार १० बज्दा नबज्दै निर्वाचन आयोग जाने तरखरमा छन् ।

यदि १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेको खण्डमा सरकार बनेको एक हप्ताभित्रै भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ ।

यही सन्दर्भमा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार विपक्षी दलका नेता राजिव कोइरालाको घरमा पुगेको तस्बिर सार्वजनिक गरे । उनको सचिवालयले तस्बिर सार्वजनिक गर्दै टुटफुटलाई प्रश्रय दिन नहुने भन्दै मुख्यमन्त्री भीम आचार्यको नेतृत्वको प्रदेश सरकार टिकाउनेबाट छलफल भएको बताएको छ ।

‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा प्रदेश सभा, प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली काँग्रेसका नेता माननीय राजिव कोईराला र माननीय हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ,’ सामाजिक संजाल फेसबुकमा उल्लेख छ, ‘लोकतान्त्रिक मुल्य, मान्यतालाई स्थापित गर्न टुटफुटलाई प्रश्रय दिन नहुने र नेकपा एमालेका केन्द्रीय कमिटी सचिव माननीय भिमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन गर्नेलगायत विषयमा छलफल भएको छ ।’

तस्बिरसहित सार्वजनिक यस्तो स्टाटसले आचार्य नेतृत्वको प्रदेश १ सरकारको भविष्यबारे सामान्य आंकलन गर्न सकिन्छ । किनकी पार्टीभित्रबाटै बहुमत सिद्ध गर्ने कोशिसमा लागेका आचार्य अन्ततः असफल हुने देखिएपछि कार्कीले प्रतिपक्षी दलका नेता राजिव कोइरालाको ढोकामा पुग्नुपर्ने बाध्यता सिर्जना भएको चर्चा सुरु भएको छ ।

तर, कार्कीको सचिवालयले भनेजस्तो ‘लोकतान्त्रिक मूल्य मान्यताका लागि’ कांग्रेसले आचार्यलाई नै समर्थन गर्ने सम्भावना लगभग शून्य छ । किनभने इनरुवा पुगेको बेला ‘भेटौं न त’ भन्ने उद्देश्य बाहेक कोइरालाको घरमा पुग्ने कार्कीको अर्को उद्देश्य थिएन ।

इनरुवा पुगेर कार्कीले कोइरालालाई घरमै हुनुहुन्छ भनेर फोन गरेका थिए । कोइरालाले घरमै छु भनेपछि चिया पिउन आउँछु नि त भन्दै कार्की उनको घर पुगेका थिए । चिया गफका क्रममा कार्कीले तपाईहरु के गर्नुहुन्छ अब भनेर सरकारको विषयमा सोधेका थिए । जवाफमा कोइरालाले समाजवादीको सांसदले सनाखत गरेपछि निर्णय गर्ने सामान्य जवाफ दिएका थिए । यसबाहेक अन्य कुरा नभएको कोइराला निकट स्रोतले बताएको छ ।

यस्तै सामान्य कुराकानीलाई आधार बनाएर कार्कीले सरकार टिकाउने विषयमा छलफल भएको भन्दै सचिवालयलाई फोटो सार्वजनिक गर्न अह्राएका थिए । तर यसले आचार्य नेतृत्वको सरकार टिक्ने कुनै आधार भेटिँदैन । किनभने नेपाली कांग्रेसले भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन गर्ने हो भने केन्द्रमा भएको गठबन्धन नै संकटमा पर्ने निश्चित छ । फेरि हाम्रो भर्खरै स्थापना भएको संघीय व्यवस्थामा केन्द्रको मुख ताक्ने र आफैं निर्णय गर्न नसक्ने अवस्थामा दलहरु छन् । नेपाली कांग्रेसको नेतृत्वले के भन्छ त्यही आधारमा प्रदेश १ मा पनि निर्णय हुने निश्चित छ । यस्तो परिस्थितिमा कुनै पनि कारणले राजिव कोइराला वा कांग्रेसका अन्य नेताले आचार्यलाई नै समर्थन गर्ने मानसिकता बनाएपनि त्यो खेल असम्भव देखिन्छ । बरु कार्कीले आफ्नै दलका सांसदलाई समाजवादीमा जानबाट रोके सरकार टिक्ने देखिन्छ । यो खेल बुधबारसम्मका लागि मात्रै छ । यसमा कार्कीले चासो नदिए प्रतिपक्षी दलका नेताको घरमा पुगेर सामाजिक सञ्जालमा फोटो पोष्ट्याएकै कारण सरकार टिक्ला त भन्ने चर्चा नै हलुका हुने निश्चित छ ।

मङ्गलबार, १५ भदौ, २०७८, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर