विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठन भइरहँदा एमाले सांसदहरु तानातानमा परिरहेका छन् । एमालेपक्षलाई संसदमा बहुमत पुर्याउनु पर्ने दबाब र भर्खरै नयाँ पार्टी बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्ना पक्षका सांसद मन्त्री बन्ने हुन् कि भन्ने डरले नेताहरु हैरान बनेका छन् ।
एमालेले गरेको आकस्मिक निर्णयअनुसार बिहीबार नै संसदीय दलको नेता र मुख्यमन्त्री बनेका भीम आचार्यले आज (शुक्रबार) मन्त्रीमण्डल विस्तारको तयारीमा जुटेका थिए । उनले एमालेमै रहेका खाँटी सांसदलाई भन्दा समाजवादीमा जाने सम्भावना भएका सांसदलाई मन्त्रीको अफर गरे । तर, नेकपा एकीकृत समाजवादीका सांसदहरु भने बिग होटलमा मोबाइल स्वीच अफ गरेर बसेका थिए ।
समाजवादीका १० सांसदहरु अब कुनै पनि हालतमा एमालेमा नजाने भन्दै गएकाहरुलाई एक महिने मन्त्री नबन्न सुझाव दिइरहेका थिए । ति १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा थिए । उनीहरुले निर्वाचन आयोगमा आउने मंगलबार आफूहरुले समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेका छन् ।
सोही बैठकमा सहभागी एक सांसदले दिएको जानकारी अनुसार भीम आचार्य नेतृत्वको सरकार ढल्ने र गठबन्धनको सरकार एकमहिनाभित्र बन्ने निष्कर्ष निकालेका छन् । ‘यो सरकार एक महिनाभित्र ढल्छ र अर्को सरकार बनाउने निर्णय भयो,’ ति सांसदले भने, ‘अहिले बनेको सरकार संविधान विपरीत छ, दल विभाजन भएर अर्को दल बनिसकेको सांसदहरुको अवस्था क्लियर हुनै बाँकी रहेको अवस्थामा अर्को पक्षका सांसदको समेत टाउको गनेर हतारमा बनाएको सरकार हामी विस्थापित गर्छौं ।’ सो बैठकमा समाजवादी पार्टीका केन्द्रीय सदस्य घनेन्द्र बस्नेत प्रमुख अतिथि थिए ।
बैठकमा सबै सांसदहरुले आ–आफ्नो तर्फबाट रिपोर्टिङ गरेका थिए । सबैले नयाँ पार्टीलाई मजबुद बनाएर लैजानुपर्ने बताउँदै दोस्रो पुस्ता भनिएका नेताहरुको आलोचना गरेका थिए । मन्त्री पाउने लोभमा गएकाहरु अवसरवादी भएको भन्दै बस्नेतले आफ्नो विचारमा अडिक रहन र कसैको प्रलोभन, धाक, धम्कीमा नपर्न आग्रह गरेका थिए ।