विराटनगर । पार्टी अध्यक्ष केपी ओलीसामु प्रदेशसभामा जसरी पनि बहुमत जुटाउने बाचा गर्दै प्रदेश १ को मुख्यमन्त्री बनेका एमाले सचिव भीम आचार्यले सपथ लगत्तै भनेका थिए ‘मन्त्रीमण्डल छिट्टै विस्तार हुनेछ ।’
मुख्यमन्त्रीको सपथकै दिन केहि मन्त्रीको पनि सपथ गराउने तयारी थियो । तर, अन्तिम समयमा मुख्यमन्त्रीको मात्र सपथ भयो ।
मन्त्रिमण्डल विस्तार हुने ‘छिट्टै’ भनेको कहिले हो भन्ने मुख्यमन्त्रीले खुलाएका छैनन् । उनले समय नखुलाउनुको मुख्य कारण माधव नेपाल समूहका सांसदहरु कति फकाउन सकिन्छ भन्ने यकिन नभएकै कारण हो ।
ओली पक्षका नेताहरुले भने आचार्यका खास भनिने निकटहरुले नै साथ नदिने संकेत देखिएको बताएका छन् । ‘उहाँले ज–जसलाई जसरी पनि ल्याउँछु भन्नुभएको थियो, उनीहरुले नै साथ दिने संकेत देखिएन,’ ओली पक्ष प्रदेशका एक नेताले भने ‘तैपनि प्रयास जारी राखेको कुरा सुनेका छौं । हेरौं ।’
मुख्यमन्त्री आचार्यले केही सातादेखि माधव नेपाल पक्षका सांसदलाई निरन्तर पदको लोभ देखाएर एमालेमा तान्न प्रयास गरिरहेका छन् । यसको पुष्टि उदयपुरकी सांसद सुनिता चौधरीले गरिसकेकी छन् । पदको लोभ देखाउँदै आफूतिर आउन दबाब दिइएको उनले बताएकी थिइन् ।
तर, बिहीबार एमालेको पक्षमा खुलेका ८ जनाबाहेक अरुले आचार्यको कुरा नसुन्ने दाबी नेपाल समूहका नेताहरुले बताए । ‘ती आठ जनाबाहेक अरुलाई उहाँले फकाउन सक्ने स्थिति छैन’ नेपाल समूहका सांसद राजेन्द्र राईले भने ‘बरु यसअघि ओली समूहमा रहेका केहि सांसद हामीसँग आउँदैछन् ।’
यसअघि पटक–पटक मुख्यमन्त्री बन्ने प्रयास गरेर असफल भएका आचार्यलाई पछिल्लो समयमा माधबकुमार नेपाल समूह छाडेर ओली समूहसँग नजिक भएपछि मुख्यमन्त्री बनाउने प्रयास सुरु भएको थियो । सुरुवातमा एमाले अध्यक्ष ओली र प्रदेश सरकारका प्रभाबशाली मन्त्रीले गरेको त्यो प्रस्ताव अनुसार आचार्य मुख्यमन्त्री हुन तयार भएका थिएनन् । उनलाई नेपाल समूहकै असहयोग हुने डर थियो ।
तर, एमाले विभाजनले औपचारिकता पाएसँगै उनी एकाएक मुख्यमन्त्री बनाईदिन ओलीसमक्ष पुगे । ओलीपत्नी राधिका शाक्यको जन्मदिनको अवसरमा बुधबार साँझ बालकोटमा पुगेका आचार्यले मुख्यमन्त्री बनाईदिन आग्रह गरेपछि ओली त्यसमा सकारात्मक भए । मुख्यमन्त्री शेरधन राईसहतिका नेताहरुले पार्टी विभाजन हुँदा बहुमत गुम्ने भन्दै जोखिम नलिन सुझाब दिएका थिए । तर, आचार्यले बहुमत जुटाउँछु भन्ने हिसाब सुनाए भने एमाले मोरङका अध्यक्ष विनोद ढकालले पनि बहुमत जुटाउने ‘जिम्मा’ लिए ।
आचार्यले नेपाल पक्षका २–३ जनाबाहेक सबै सांसदले आपूmलाई समर्थन गर्दै एमालेमै आउने बताएका थिए । उनको कुरा सुनेर मुख्यमन्त्री राईले भने ‘तपाईको हिसाब पहिलेदेखि कमजोर रहेको र बारम्बार फेल भएको’ भन्दै बहुमत जुट्न सहज नभएको आसयसहित व्यंग्यसमेत गर्न भ्याएका थिए । आफूविरुद्ध यसअघि आचार्यको नेतृत्वमा अविश्वासको प्रस्ताव पेश हुँदा पनि राईले आचार्य हिसाबमा कमजोर रहेको सुनाउने गर्थे ।
त्यसो त एमाले अध्यक्ष ओलीले पनि पार्टी एकताबद्ध भएको बेला प्रदेशको मुख्य नेताले जोखिम नलिने कि भन्ने धारणा छलफलमा राखेका थिए । उनको आसय पनि पार्टी विभाजन हुँदा बहुमत गुम्छ भन्ने नै थियो । ‘अध्यक्षले पनि १० जनासम्म सांसद नेपाल पक्षमा जाने भएकोले बहुमत गुम्ने हुँदा एक महिनाको लागि जोखिम नलिन भन्नुभएको थियो’ एमालेकै एक नेताले भने, ‘तर, आचार्य र ढकालले बहुमत जुट्छ भनेर जिद्धि गरेपछि राईले राजिनमा दिएर उनलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो ।’
आचार्यसहित प्रदेश १ मा माधब नेपाल समहूमा १८ सांसद रहेकोमा उनी मुख्यमन्त्री हुँदा ८ जनाले साथ दिएका छन् । अन्य १० जना सांसद भने नेपाल नेतृत्वको नेकपा एकीकृतमा समाहित हुने तयारीमा छन् । तर, त्यसमध्येका केहि सांसदलाई मन्त्री बनाएर आपूmतिर तान्ने प्रयास आचार्यले गरिरहेका छन् । त्यसको लागि नेपाल विगतमा समूहमै रहेका जीवन घिमिरे र लछुमन तिवारी सक्रिय छन् ।
आचार्यको पक्षमा बहुमत जुटाईदिन ओली पक्षका नेताहरुले भने खासै मेहनत गरेको देखिएको छैन । ‘विगतमा हाम्रो विरुद्ध लागेपनि हाम्रो समूहमा रहेका सांसदहरु सबैले आचार्यलाई साथ दिएका छन्’ ओली निकट एक सांसदले भने, ‘अब मुख्यमन्त्री भएर बहुमत जुटाउने र विगतमा आपूmसँग नजिक भएका सांसदलाई ल्याउने जिम्मा आचार्यकै हो ।’