विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एमालेको प्रभाव र बर्चस्वलाई कायम राख्नका लागि आफूले राजीनामा दिएको बताएका छन् ।
संसदीय दलको बैठक सम्पन्न भएपछि संचारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले पार्टी एकतालाई ध्यानमा राखेर र पार्टीको साखलाई बचाइ राख्न आफ्नै प्रस्तावमा भीम आचार्यलाई दलको नेता बनाइएको बताए ।
‘पार्टी एकतालाई ध्यानमा राखेर, खास गरी नेकपा एमाले र एमालेको प्रभाव तथा वर्चस्वलाई कायम गर्ने, सरकारलाई जस्ताको तस्तै राख्ने योजना अनुसार मेरो प्रस्तावमा उहाँलाई दलको नेतामा सर्वसम्मत गरिएको हो,’ राईले भने । उनले अब मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई पार्टीको तर्फबाट प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने पनि बताए । त्यसअघि आफूले राजीनामा दिने उनको भनाइ थियो ।