प्रदेश १ : एमाले विभाजनको असर

दलको बैठक भोली बस्ने, भीम आचार्यलाई दलको नेता र मुख्यमन्त्री सिफारिसको तयारी

विराटनगर । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि अल्पमतमा पर्ने देखिएसँगै प्रदेश १ को मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार परिवर्तनको कसरत एमालेबाटै सुरु भएको छ ।

स्रोतका अनुसार एमाले प्रदेश १ को संसदीय दलको बैठक भोली (बिहीबार)का लागि बोलाइएको छ । सोही बैठकमा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिने र प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीबाट पनि राजीनामा दिने तयारी गरेको बताइएको छ ।

शेरधन राईले राजीनामा दिएलगत्रै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाउने र भोली नै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारीमा एमाले लागेको छ ।

एमालेले यस्तो तयारी गरेसँगै नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले पनि छलफल सुरु गरेको छ । एमालेले आफ्ना पक्षका सांसद लान सक्ने भन्दै उनीहरुले भित्री रुपमा १ महिने सरकारमा मन्त्री बन्ने लोभमा कोही पर्न नहुने भन्दै अभियान चलाएका छन् । ‘प्रदेश १ मा पनि लुम्बिनीमा जस्तै एक महिने सरकार बनाउने नाटक सुरु भएछ,’ समाजवादी पार्टीको पक्षमा रहेका एक प्रदेश सांसदले भने, ‘कसरी संख्या कसरी पुर्याउँछन् हामी हेर्दैछौं ।’

एमालेका ५१ सांसदमध्ये १२ जना समाजवादीमा रहेको दाबी सो पक्षले गरिरहेको छ । यद्यपि दोस्रो पुस्ता भनिएका नेताहरु एमालेमै रहने र ०७५ जेठ २ गतेकै अवस्थामा पार्टीका संगठनात्मक संरचना र नेतृत्व रहने निर्णय गरेपछि कतिपय सांसदहरुले एमाले छोड्ने मनस्थितिमा नपुगेको बताइएको छ ।

प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियालाई मुद्दा लागेको कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन् । समाजवादीमा गएका केही सांसद एमालेमै रहे भनेपनि बहुमत पुर्याउने गरी सांसदलाई एमालेले टिकाउनै नसक्ने ती सांसदले बताए । स्रोतका अनुसार फौजदारी अभियोग लागेकी गुलेफुन मियालाई पनि संसदीय दलको बैठकमा सहभागी गराउने तयारी एमालेले गरेको छ । योसँगै प्रहरीले उनलाई पक्राउ गर्नसक्ने समाजवादी पक्षका एक नेताले बताए ।

बुधबार, ०९ भदौ, २०७८, रातीको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर