काठमाडौं । पार्टीभित्र चरम विवाद सिर्जना भएर विभाजनसम्म पुग्दा एमाले पुनः २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुने भएको छ ।
यसअघि सोही मागका आधारमा निर्णय गर्न पार्टी अध्यक्ष केपीशर्मा ओली पक्षले नमान्दा बरिष्ठ नेता माधवकुमार नेपालले अर्को पार्टी दर्ता गर्नुपरेको थियो । उक्त पार्टी दर्ता भएर निर्वाचन आयोगबाट प्रमाणपत्र लिने समय एक दिन बाँकी छँदा ओली नेतृत्वको एमालेले यसअघि माधव पक्षको २०७५ जेठ २ मा फर्किनुपर्ने मूल मागलाई सम्बोधन गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल अमात्य भवनमा बसेको स्थायी समितिको बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञावालीले जानकारी दिए ।
यसैबीच नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल पनि गठन गरेको छ । स्थायी कमिटीको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न सो कार्यदल बनाएको हो ।
कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेका छन् ।
सदस्यता नवीकरणलाई पनि २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आवद्ध भएका र २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको सदस्यतासमेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने बैठकले निर्णय गरेको ज्ञावालीले बताए ।