विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू अल्पमतमा पर्नसक्ने बताएका छन् । कान्तिपुर टेलिभिजनको एक अन्तरवार्ताका क्रममा मुख्यमन्त्री राईले आफू टुटफुट र विभाजनको विपक्षमा रहेको कारण सोही अनुसार पार्टीलाई एकताबद्ध बनाउन आफू लागिरहेको बताए ।
‘म अल्पमतमा पर्नसक्छु, त्यस्तो अवस्थामा मैले मार्गप्रशस्त गराउनुपर्ने हुनसक्छ,’ १ नम्बर प्रदेशसभाका ८ जनामात्रै सांसद नयाँ पार्टीमा गए भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो अवस्था आउन नदिनका लागि म र पार्टीका नेता भीम आचार्य जी लागिरहनु भएको छ ।’
मुख्यमन्त्री राईले पार्टी नेताको हिसावले आफू मुख्यमन्त्री रहँदा विभाजन नरोकिने र भीम आचार्य वा अरु कोही मुख्यमन्त्री हुँदा विभाजन रोकिने र प्रदेश १ मा पार्टी एकताबद्ध रहने अवस्था आउँदा आफ्ना लागि पद सामान्य कुरा भएको पनि बताए ।
‘मैले सुरुदेखि नै पार्टी एकताको पक्षमा भूमिका खेलेको छु, पार्टी एकताको अपिल गरिरहेको छु, सोही अनुसार हामी एकमतका साथ बजेट तथा सरकारका नीति कार्यक्रम पारित भएको हो,’ राईले भने, ‘टुटफुट वा विभाजनकारी गतिविधिमा सामेल नहुनका लागि आव्हान गर्ने, सम्झाउने प्रयास अन्तिम समयसम्म हुन्छ ।’ उनले आफ्नो पहिलो विकल्प दललाई एक ढिक्का राख्ने भएको पनि बताए । त्यसका लागि आफूले कुनैपनि त्याग तयार रहेको बताए ।