विराटनगर । नेपाली कांग्रेस मोरङका पूर्व सचिव यदु विष्टले आगामी जिल्ला अधिवेशनमा सभापतिको उमेद्वारी दिने बताएका छन् । पार्टीको तेह्रौं महाधिवेशनका क्रममा बनेको पूर्व संस्थापन समूहको तर्फबाट विष्टले सभापति पदमा उमेद्वारी दिने तयारी गरेका हुन् ।
पार्टीभित्रका नेताहरुमा आधारित गुट भन्दा पृथक पहिचानसहित नेपाली कांग्रेसलाई मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीतिक बहाक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यसहित जिल्ला अधिवेशनमा सभापतिको पदमा उमेदवारी दिने तयारी भइरहेको उनले बताएका छन् । हाम्रोमत दैनिकसँगको कुराकानीका क्रममा उनले पार्टीहरुमा राजनैतिक बैचारिक धार कमजोर बन्दै गएको र त्यसले राजनीतिमा नयाँ पुस्ताको आकर्षण नहुने अवस्था बन्दै गएको टिप्पणी गरेका हुन् ।
पार्टीमा निष्ठाको राजनीति गर्नेहरु कर्नरमा पर्दै गएको, बैचारिक राजनीतिक कार्यकर्ताहरु अल्पमतमा पारिदै जाने अवस्था र पैसा, बल र शक्तिको आधारमा राजनीति गर्नेहरु बोलवाला हुने जस्तो अवस्था पार्टीमा देखा परेको भन्दै उनले त्यस्तो अवस्था अन्त्य गर्नुपर्ने बताए ।
पार्टीमा युवा पुस्तालाई आकर्षित गर्न राजनीतिमा व्याप्त भ्रष्टिकरणको अवस्था अन्त्य गर्नुपर्ने भन्दै उनले पार्टीलाई पारदर्शी ढंगले सञ्चालन गर्ने नेतृत्व आवश्यक पर्ने बताएका छन् । उनले निकटताका आधारमा पार्टी नेतृत्वले अवसर दिने परिपाटी गलत भएपनि त्यसमा सुधार आउन नसकेकोले अधिवेशनमा आफूहरुले त्यसलाई प्रमुख मुद्दाको रुपमा अगाडि सार्ने बताए ।
पार्टीको विधानले गरेका व्यवस्था अनुरुप पार्टी कमिटीहरु सञ्चालन नहुने अवस्था अन्त्य गर्दै विधान अनुरुप चल्ने र पार्टीलाई लोकतान्त्रिक अभ्यासमा खरो उतार्दै केन्द्रीय नेताहरुले पनि बुथ कमिटीबाटै प्रतिनिधि चुनिनु पर्ने व्यवस्थाका लागि आपूmहरु संघर्ष गरिरहेको उनले बताएका छन् ।
पूर्व संस्थापन समूहको रुपमा चिनिएको समूहका तर्फबाट यस पटक जिल्लामा वैचारिक नेतृत्व प्रदान गर्ने उद्देश्यले उमेद्वारी दिएको भन्दै मुलभूत एजेण्डामा सहमत हुनेहरु सबै एकठाउँमा हुने उनको विश्वास छ । पार्टीमा नयाँ र पुराना सदस्यहरुबीचको विभेद अन्त्य गरी सबैलाई सम्मानभाव प्रकट गर्ने, कार्यकर्ताहरुलाई अन्याय अनुभूति हुन नदिने जस्ता विषय आफ्नो प्राथमिकतामा पर्ने भन्दै उनले पार्टीलाई व्यवस्थित र सुढृढ ढंगले सञ्चालन गर्नका लागि विधानमा गर्नुपर्ने सुधारका एजेण्डालाई पनि महाधिवेशनमा प्राथमिकताका साथ उठाउने बताएका छन् ।
कुनै पदमा एउटा व्यक्तिलाई एक पटक भन्दा बढी समानुपातिक अवसर दिइन नहुने, एउटा निर्वाचन क्षेत्र वा कुनै भूगोलमा वा पदमा दुई पटक भन्दा बढी उमेदवार बन्न नपाइने जस्ता व्यवस्था गरेर पार्टीमा सबैका लागि अवसर छ भन्ने सन्देश दिन सके पार्टीलाई जीवन्त बनाउन सकिने उनले बताएका छन् । राजनीतिमा निष्ठाका राजनीतिहरु कर्नरमा पर्दै जाने र पैसा र शक्ति केन्द्रका भरमा नेतृत्व हत्याउने प्रवृत्तिमा सुधार गर्ने जस्ता सुधार र परिवर्तनका मुद्दाहरु प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका छन् ।