विराटनगर । पुराण वाचक पण्डित दीनबन्धु पोखरेलले समयको माग अनुसार धार्मिक कानुन बदल्न अनिवार्य रहेको धारणा राखेका छन् । सत्य बोल्ने र क्षमा गर्ने भावना भएका व्यक्ति मात्र धार्मिक हुने बताउँदै पण्डित पोखरेलले मानिस मानिसबीच भेदभाव गर्ने व्यक्ति धार्मिक हुन नसक्ने धारणा राखे ।

प्रदेश १ का दुई दर्जन बढी सामाजिक संघसंस्थाले संयुक्त आयोजना गरको ‘धार्मिक दृष्टिकोणमा छुवाछूत’ विषयक भर्चूअल कार्यक्रममा पण्डित पोखरेलले यस्तो बताएका हुन् । ‘मनुस्मृतिलाई कानुन बुझेका कारण समस्या भइरहेको छ । त्यो कानुन होइन,’ उनले भने, ‘शासकहरुले त्यो समयको लागि आफू अनुकूलको कानुन बनाए, हामीले अब अहिलेको समाज अनुकूल र समयको माग अनुकूलको कानुन बनाउनुपर्छ । र, त्यो हामी बनाउँछौं ।’ देशको संविधान संशोधन भए जस्तै धर्मको संविधान संशोधन गर्नै पर्ने उनको धारणा थियो ।

‘धर्ममा जात छैन । केही मानिसको अपव्याख्यालाई समाजले कहिलेसम्म मान्ने ?’, जातको आधारमा गरिने विभेदलाई हिन्दू धर्मले संरक्षण गर्न नसक्ने बताउँदै उनले भने, ‘विगतमा पनि जातको आधारमा समाजको वर्गीकरण गरिएको थिएन । गुण र कर्म विभाजन गरिएको थियो ।’ जातको आधारमा गरिने विभेदलाई निर्मूल गर्न आफूले मन्दिरमा दलित पुजारी राख्न सुरु गरेको बताउँदै पण्डित पोखरेलले पाँचवर्ष भित्र हिन्दू धर्मभित्रको सबै किसिमको विभेद अन्त्य गराउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल बौद्ध गुम्बाका अध्यक्ष महेन्द्र जंगलामाले बौद्व धर्मभित्र कुनै विभेद नरहेको बताउँदै समाजमा हुने मानिस मानिसबीचको विभेद अन्त्य गर्न आफूहरु प्रतिवद्ध रहेको धारणा व्यक्त गरे । भगवान बुद्वले जातको आधारमा कहिल्यै विभेद नगरेको र त्यहाँबाटै बौद्व धर्मभित्र विभेद नरहेको बताउँदै उनले भने, ‘हाम्रो धर्ममा विभेद छैन । कोही कसैले बौद्व धर्मको नामले विभेद गर्छ भने हामी त्यसलाई कडा कारबाही गर्छौं ।’ व्यक्तिमा चेतना नभएका कारण समाजमा हुने विभेदका घटना बढेको बताउँदै अध्यक्ष लामाले त्यसको अन्त्य गर्न सबै धर्मले सहकार्य गरेर अभियान चलाउनु पर्नेमा जोड दिए ।

त्यस्तै ख्रिष्टियन मण्डली महासंघ नेपालका महासचिव शुशिल भट्टले धर्ममा विभेदको वाक्य नै नरहेको बताउँदै विभेद गर्ने व्यक्तिलाई समाजले बहिस्कार गर्नुपर्नेमा जोड दिए । ख्रिष्टियन धर्मको नाममा केही व्यक्तिले विभेद वा गलत प्रचार गरेको पाइए कारबाही गर्न तयार रहेको उनले बताए । ‘समृद्ध समाज निर्माणको परिकल्पना गर्दा त्यहाँ कुनै किसिमको विभेद हुनुहुँदैन,’ उनले भने, ‘हाम्रो धर्मले त्यसप्रकारको विभेदको वातावरण सिर्जना गर्दैन ।’

नेपाल मुस्लिम बुद्धिजिवि समाजका केन्द्रीय संयोजक शक्तिकुमार वंशकार (अब्दुल कवि)ले मुस्लिम धर्मभित्र कुनै विभेद नरहेको धारणा व्यक्त गर्दै सामाजिक विकास र सुधारको लागि धर्म बाधक हुन नहुने विचार व्यक्त गरे । वर्षौं अघि बनेको धार्मिक कानुनहरू समय अनुकूल रुपान्तरण गर्दै लगेमा मात्र समाजले धर्मलाई विश्वास गर्ने उनको बुझाई थियो ।

कार्यक्रममा बिभिन्न सहभागिहरुले धर्मको विभेदले समाजमा सिर्जना गरेको समस्याहरु उठाएका थिए । धार्मिक, जातीय,सामाजिक तथा सांस्कृतिक विकास र अन्तरघूलन गराउन सबै धर्मका नेतृत्वकर्ताले ध्यान दिनुपर्नेमा सहभागिले जोड दिए ।

रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले गरेकी थिइन् ।