विराटनगर । लामो रस्साकस्सी र सत्ताको विभिन्न दाउपेचकाबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी नियुक्त भएका छन् ।
केसी लुम्बिनी प्रदेशका दोस्रो मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले नेता शंकर पोखरेलले हिंजो पदबाट राजीनामा दिएपछि केसीले आज बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
तत्कालीन माओवादीले संचालन गरेको जनयुद्धमा गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार थिए । नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका ५१ वर्षीय केसी प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका हुन् । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।
२०५५ सालमा माओवादी जनयुद्धमा सहभागी केसी २०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बनेका थिए । केसी जनयुद्धकै क्रममा २०६० सालमा भारतको पटनाबाट पक्राउ परे र २०६३ मा रिहा भएका थिए । लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका केसी बेलाबेला खरो ढंगले अभिव्यक्तिहरु दिने गर्दा विवादमा पनि आउने गरेका छन् ।