लोड हुँदैछ...

मेनु

कलिलैमा बिहे : महिला स्वास्थ्यमा जटिलतै जटिलता

कलिलैमा बिहे : महिला स्वास्थ्यमा जटिलतै जटिलता

विराटनगर । ‘कि मलाई बिहे गरेर जान दिनुस्, कि मेरो आत्महत्याको खबर सुन्न तयार हुनुस्’, केही समय अघि जिल्ला प्रहरी कार्यालय मोरङको काउन्सिलिङ कक्षमा १५ वर्षीया एक किशोरीले सबैका अघि अभिभावकलाई धम्क्याइन् ।

कक्षा १० मा पढ्दा पढ्दै भारतीय एक युवकसँग प्रेम सम्बन्धमा परेकी उनले भागेर बिहे गरिन् । अभिभावकले प्रहरी गुहारे । उनको ‘उद्धार’ गरेर ल्याए । ‘उनलाई खोजेर त ल्याइयो’, मोरङका एक प्रहरी अधिकारीले भने ‘तर, उनी बिहे नगरी नछाड्ने जिद्दीमा छन् । यसले जुनसुकै दुर्घटना ल्याउने खतरा छ ।’

कलिलैमा बिहे र त्यसमाथि कानुन र अभिभावकको अवरोधले कस्तो अवस्था ल्याउँछ भन्ने सामान्य अनुमान लगाउन यो प्रतिनिधि घटना कामलाग्दो हुनसक्छ । तर, कलिलैमा हुने बिहेले निम्त्याउने जटिलताका बहुआयामिक पाटा छन् । सबैभन्दा ठूलो जटिलता महिला स्वास्थ्यमा पर्ने अनुसन्धानहरुले देखाएका छन् ।

बढ्दो बाल विवाह महिलामा अनेकौं स्वास्थ्य जटिलता आउने मुख्य कारण बनिरहेको छ । कलिलै उमेरमा हुने बिहेबारीले खासगरी गर्भावस्थामा जटिल स्वास्थ्य समस्या निम्त्याएको पाइएको छ । कलिलैमा बिहे गरेपछि चाँडै यौन जीवनमा प्रवेश गर्ने, चाँडै गर्भवती हुने र आमा बन्ने दर बढेको छ । चिकित्सकहरुका अनुसार यही चलनले स्वास्थ्य जटिलता धेरै आइरहेको छ । ‘कम उमेरमा महिलाका अंगहरु राम्ररी विकसित भइसकेका हुँदैनन्’, मोरङ सहकारी अस्पताल विराटनगरका स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साह भन्छन् ‘यसले गर्दा गर्भावस्था र प्रसवमा धेरै समस्या आएको देखिएको छ । मोरङ जिल्लामा यो समस्या बढी देखिएको छ ।’

डा. साहको अनुभवलाई सरकारी तथ्यांकले पनि सही सावित गर्छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका अनुसार शैक्षिक र आर्थिक रुपले सम्पन्नहरुकै बसोबास रहेको मोरङमै बालविवाहको दर धेरै छ । सरकारले ‘बिहेबारी २० वर्ष पारी ’ भनेर धेरै अभियान चलाए पनि उमेरै नपुगी बिहे गर्ने, कलिलैमा बिहे गर्दा सम्बन्ध टिकाउ नहुने , हुँदा पनि महिलामा स्वास्थ्य जटिलता आउने समस्या धेरै भेटिएको छ ।

विश्व स्वास्थ्य संघले प्रकाशन गरेको एक तथ्याङ्क अनुसार एक करोड ६० लाख किशोरीहरु (१५ देखि १९ बर्षका) बर्सेनि गर्भवती हुने गरेका छन् र १० लाख किशोरीहरु १५ बर्षमा नै आमा बन्ने गरेका छन् । यी गर्भवतीहरुमध्ये ९५ प्रतिशत कम तथा मध्यम आय भएका मुलुकका छन् । सोही तथ्याङ्क अनुसार १५ देखि १९ बर्षका किशोरीहरुका मृत्युको दोस्रो प्रमुख कारण गर्भको जटिलता र प्रसव नैे रहने गरेको छ । करिब ३० लाख किशोरीहरु असुरक्षित गर्भपतन गराउने तथ्य पनि सो प्रतिवेदनमा उल्लेख छ ।

‘गर्भावस्था आफैमा एउटा जटिल अनि बिशेष अवस्था हो । यस अवस्थामा एकातिर आमा बन्ने खुशी जोडिएको हुन्छ भने अर्कातिर महिलाको स्वास्थ्यमा गम्भीर र ज्यान जाने खतरा समेत रहन्छ’, दशकभन्दा लामो समयदेखि महिला स्वास्थ्यका क्षेत्रमा सक्रिय रहेका चिकित्सक साह थप्छन् ‘किशोरावस्थामा गर्भवती भएमा स्वाभाविक रुपमा गर्भका जटिलताहरु बढी आउँछन् ।’ उनका अनुसार २० बर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा एकातिर मातृमृत्यु दर बढी हुन्छ भने अर्कातिर बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढी हुने गरेको छ ।

कम उमेरमा गर्भवती हुँदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ता भन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यस सम्बन्धि जटिलताहरु थपिने सम्भावना हुने उनको भनाइ छ । गर्भको जटिलताले आमाको स्वास्थ्यमा मात्र होइन गर्भको बच्चामा पनि प्रतिकुल असर गर्ने बताउँदै डा. साहले भने ‘ यस्ता बच्चाहरु कम तौलका हुने, राम्रो शारिरिक विकास नहुने तथा कन्जेनाईटल डिफेक्ट (जन्मपुर्व नै खराबी) हुने सम्भावना बढी हुन्छ ।’

प्रदेश १ का १४ वटै जिल्लाहरुमध्ये हरेक जिल्लामा बालविवाहको समस्या छ । मोरङ, संखुवासभा, ताप्लेजुङ, झापा जस्ता जिल्लामा उमेरै नपुगी बिहे हुने क्रम धेरै रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाउँछ । उमेर नपुगी हुने विवाहका अधिकांश घटनामा प्रेम सम्बन्ध मुख्य कारण देखिन्छ । यसबाहेक तराईमा दहेजको समस्या, गरिबीले पनि काम गरेको देखिन्छ ।

प्रविधिको विकास, बढ्दो शैक्षिक चेतना र बढ्दो खुलापनले कलिलै उमेरमा प्रेम सम्बन्ध स्थापित हुने र त्यही सम्बन्धले उमेरै नपुगी विवाहको रुप लिने गरेको समाजशास्त्रका अध्येताहरु बताउँछन् । ‘किशोरकिशोरीहरुको प्रेम सम्बन्धलाई अभिभावकले सकारात्मक रुपमा ग्रहण नगरिदिँदा पनि कलिलैमा भागेर बिहे गर्ने चलन बढेको छ’ समाजशास्त्रका विद्यार्थी चेतराज कट्टेल भन्छन् ‘यदि अभिभावकले छोराछोरीको प्रेम सम्बन्धलाई सहज रुपमा लिने मात्रै हो भने पनि कलिलैमा बिहे गर्ने क्रम घट्छ ।’

जटिलतै जटिलता

कलिलैमा हुने बिहेले निम्त्याउने स्वास्थ्य जटिलताका बहुआयामिक पाटा छन् । पाठेघरको मुखको क्यान्सर पछिल्लो समयमा धेरै महिलाको ज्यान लिने प्रमुख कारण बनिरहेको छ । अनुसन्धानले देखाएको छ, सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढाइरहेको छ । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाएर राख्दा पनि जोखिम उच्च भइरहेको चिकित्सकहरुको भनाइ छ ।

कलिलो उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्क गर्दा ‘पापिलोमा’ भन्ने भाइरसका कारण पाठेघरको मुखको क्यान्सर बढी ह्ुने देखिएको अनुसन्धानमा संलग्न चिकित्सकले बताएका छन् । ज्यानमारा रोग पाठेघरको मुखको क्यान्सरका कारण वार्षिक रुपमा विश्वमा करिब २ देखि ३ लाख महिलाले ज्यान गुमाइरहेका छन् । यसबाट हुने मृत्युदर नेपालमा पनि उच्च छ । पूर्वमा यसको समस्या झनै बढी देखिएको छ ।

महिला प्रजनन अंगको क्यान्सर उपचार शल्यक्रिया विशेषज्ञ डा.पप्पु रिजालका अनुसार विश्वमै महिलाहरुमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा पर्दछ । ज्यान गुमाउनेहरुमा करिव ८० प्रतिशतभन्दा बढी एशिया र अफ्रिकाका मात्रै छन् ।

पछिल्लो १० देखि १५ वर्ष भित्रमा विकसित राष्ट्रहरुमा यस प्रकृतिको क्यान्सरबाट हुने मृत्युदरमा निकै कमी आएको छ । मृत्युदरमा कमी आउनुको मुख्यः कारण त्यहाँको स्वास्थ्य प्रणाली प्रभावकारी बन्नु, महिलाहरुले आफ्नो स्वास्थ्यप्रति ख्याल गर्नु र स्वास्थ्य सम्बन्धी जनचेतना नै भएको अनुसन्धानमा संलग्न चिकित्सकको ठहर छ ।

डा. रिजालका अनुसार विशेष गरी ३५ देखि ४५ र ६० देखि ६५ वर्ष दुई उमेर समुहमा बढी मात्रामा देखिएको अनुसन्धानका क्रममा पुष्टि भएको छ । प्रि क्यान्सर सिआइएन १ र २ र ३ र क्यान्सर गरेर दुई अवस्थाको हुने गरेको छ । सामान्य अवस्थामा प्रि क्यान्सर क्यान्सर अवस्थासम्म पुग्न १० देखि १५ वर्षसम्म लाग्ने विज्ञहरुको भनाइ छ । प्रि क्यान्सर सिआइएन १ र २ र ३ अवस्थामा रोग पत्ता लागेमा एलइइपी क्राइथेरापी जस्ता सरल पद्दतिबाट उपचार गर्न सकिने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।