लुम्बिनीमा राष्ट्रपतिकै सिको, मुख्यमन्त्री दाबी गर्न २२ घण्टाको समय

काठमाडौं । संघीय सरकार गठनका लागि २४ घण्टाको समय दिँदा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि विपक्षी दलले चर्को आलोचना गरेका थिए । उनै विपक्षी दल अहिले संघीय सरकारको नेतृत्व गरिरहेको छ र सोही गठबन्धन सरकारले अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गरेको छ ।

मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजिनामा दिएलगत्तै शेरचनले अर्को सरकार गठनका लागि छोटो समय (२२ घण्टा) दिएका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टाको समय दिँदा तत्कालिन विपक्षी गठबन्धनले चर्को आलोचना गरेको थियो ।

शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएका हुन् । सो समयमा बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरिएको छ ।

संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गरेपछि आज प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।

बुधबार, २७ साउन, २०७८, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page