प्रदेश १ प्रदेशसभा : भारत आवत–जावतमा भिषा लागू गर्न एमालेको माग (भिडियो)

विराटनगर । प्रदेश १ प्रदेशसभाको आज बसेको बैठकमा पार्टीका तर्फबाट विशेष समय लिएर बोल्दै एमाले सांसद बिमल कार्कीले भारत आवत–जावतमा भिषा प्रणाली लागू गर्न माग गरेका छन् ।

सीमामा सँधै समस्या आउने गरेको भन्दै भिषा प्रणाली लागू गर्न उनले माग गरेका हुन् । कार्कीले भारतसँगको सीमा समस्या समाधानका लागि पनि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । कार्कीले भारतीय एसएसबीको ज्यादतीबारे भारतले नेपालसँग क्षमायाचना गर्नुपर्ने पनि बताए ।

‘परम्परागत रुपमा आवतजावत गर्ने काम कि पूर्णरुपमा कार्यान्वयन गरियोस् हैन भने भारतसँगको आवतजावतमा भिषा लागू गरियोस्,’ कार्कीले भने, ‘जयसिंह धामीको विषयमा भारतीय सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्छ र भारतीय एसएसबीको जवानमाथि कारवाही गरी नेपालसँग क्षमायाचना गर्नुपर्छ ।’

एमाले सांसद कार्कीले आफ्नै पार्टी नेतृत्वको प्रदेश सरकारले विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन ध्यानकर्षण पनि गराए । ‘समयमै ति प्रश्नहरुको उत्तर दिन गम्भीरतापूर्वक उत्तर दिन आग्रह गर्दछु,’ उनले भने ।

यसैबीच कार्कीले सुकुमबासी आयोग तुरुन्त गठन गर्न पनि माग गरेका छन् । उनले संघीय सरकारको एक सय दिन नपुग्दै विरोध गर्न बाध्य बनाएको बताउँदै सरकारले आयोग खारेज गरेर संविधानको उल्लङ्घन गरेको आरोप पनि लगाए । ‘संविधानले आवास अधिकारको ग्यारेन्टी गरेको छ, त्यही अधिकार कार्यान्वयन गर्न भूमिहीनहरुको लगत संकलन भइसकेको, जग्गाको नापनक्सा र लगत संकलन गरिसकेको अवस्था छ,’ कार्कीले भने, ‘भूमि सम्बन्धित समस्या समाधान आयोग तुरुन्त गठन गरोस् । सरकारमा जान नपाउँदै कानून विपरीत गरिएको निर्णय मान्य छैन ।’

शुक्रबार, २२ साउन, २०७८, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर