पाँचथर । साउन लागेपछि पाँचथरको जोरपोखरीमा तमोर नदीको जल चढाउन भक्तजनको घुइँचो लागेको छ । परापूर्व कालमा सिंह र सिद्ध दुई पोखरी आसपासमा मिलेर बनेको जोरपोखरी धार्मिक आस्थाको केन्द्रमा बदलिएको छ ।
पाँचथर जिल्लाको मेची रार्जमार्ग स्थित फिदिम–ताप्लेजुङ सडक खण्ड अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा रहेको जोरपोखरीमा साउन महिनाको रैनक नै छुट्टै हुन्छ ।
हरेक वर्ष साउन महिनाको पहिलो दिनदेखिनै तमोर नदिबाट जल ल्याई शिवजीलाई चढाउँन भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीय रुपेश मैनाली बताउँछन् । साउन महिनामा माछामासु नखाइ सोमबारको पवित्र ब्रत बसेर ४ घण्टाको लामो बाटो पारगरी तमोर खोलाबाट कलशमा पानी ल्याइ जोरपोखरीको शिवलिङ्गमा जल चढाउने गर्दछन् ।
धार्मिक तथा ऐतिहासिक मान्यता अनुसार परापूर्व कालबाटै यस क्षेत्रमा साउन महिनाभर रमणीय माहोल हुनेगरेको छ । विवाहित तथा अविभाहित महिलाहरुले तमोरको जल ल्याएर पोखरीको शिवलिङ्गमा चढाउने कार्य परापूर्व कालदेखि प्रचलनमा रहेको विश्वास गरिन्छ । शिवजीलाई जल र गाईको दूध अर्पण गरेमा पुन्य प्रप्त हुने धार्मिक विश्वास छ । यहाँ रहेको पोखरी नजिक शिवलिङ्ग बनाइ आफूले बनाएको उक्त शिवलिङ्गलाई शिवालय मन्दिरमा राखि पैदलै तमोर नदीमा गएर जल ल्याई चढाएमा सबै पाप नष्ट भई परिवारमा सुख शान्ति छाउने र आफ्ना श्रीमान्को आयु लामो हुने विश्वासले बिगत धेरै वर्ष अगाडिबाट आफूले जल चढाउने गरेको याङ्वरक गाउँपालिकाकी अस्मिता सुवेदी बताउँछिन् ।
सुवेदीका अनुसार श्रावण महिनामा त्यस क्षेत्रमा जल चढाउन तथा शिवलिङ्गमा गाईको दूध, पञ्चामृत अर्पण गर्नका लागि महिनाभर भक्तजनको घुइँचो लाग्ने गर्छ । मेची राजमार्गको सडकसँगै जोडिएको पोखरीमा ताप्लेजुङको पाथीभरा जाने भक्तजनले पनि अवलोकन तथा दर्शन गर्ने गरेका छन् ।
बिहानीपखको समयमा शिवको भजनकिर्तन गर्दै आफ्ना पतिसहित जल चढाउन त्यहाँ पुगेकी मनमाया चापागाई आफ्नो खाली खुट्टा देखाउदै भन्छिन् ‘चपल नै नलगाई बिहान तमोर खोलाबाट श्रीमान् र मसँगै जल ल्याएका थियौ । हामी ४ वर्षदेखि यसरीनै वर्षेनी जल चढाइरहेका छौं । ५ वर्ष पु¥याउने हाम्रो चाहना छ ।’ उनले परिवारको सुख र हाम्रो धार्मिक मान्यता पछ्याउँदै जल चढाएको बताइन् ।
हिन्दू परम्परा अनुसार श्रावण महिनाको सोमवार ब्रत बस्ने साकाहारी भोजन गर्ने, पँहेलो बस्त्र धारण गरी शिव भगवानको पूजाअर्चना गर्ने प्रचलन परम्पराकै रुपमा स्थापित छ । तर, पछिल्लो समय ब्रत बस्ने तथा धार्मिक आस्था राख्ने कुरामा हिन्दू नारी मात्र नभई अन्य धार्मिक तथा जातीय समूदायका महिलाहरुले पनि उतिकै सहभागिता जनाउने गरेका छन् ।
बुधबार जल चढाउँन जोरपोखरी पुगेकी फिदिम नगरपलिकाकी आयुष्का लिम्बू भन्छिन् ‘मलाई नेपाली संस्कार मन पर्छ । म श्रावणमा ब्रत बस्नेदेखि तीजमा माइत जाने, दर खाएर रमाइलो गर्न खुब मनपराउँछु । वर्षको एकपल्ट जोरपोखरी आएर शिवलिङ्ग बनाइ जल चढाएकै हुन्छु ।’
हिलिहाङ गाउँपालिकाका अध्यक्ष भवानीप्रसाद लिङ्देनका अनुसार पोखरी नजिकै आगेजुङ गुम्बा, हिलिहाङ दरवार, शिव गङ्गा जस्ता धार्मिक र ऐतिहासिक स्थलहरु रहेकाले पनि यहाँ मानिसको घुइँचो कम हुदैन । उनी भन्छन् ‘यस क्षेत्रमा विभिन्न समयमा आएर योगीहरुले ध्यान गरी सिद्धि प्राप्त गरेको स्थान हो । यस क्षेत्रमा गुरुकुल शिक्षासमेत सञ्चालन हुने गरेको छ । यस पोखरीलाई ब्रम्हयोग सिद्धस्थलका रुपमा पनि चिनिन्छ ।
समुद्री सतहबाट १२ सय मिटरको उचाइमा रहेको पोखरी पाँचथरको सदरमुकाम फिदिम बजारबाट करिव २८ किलोमिटर दुरीमा रहेको छ । यस क्षेत्रमा सहज पहुँचका लागि सडक पूर्वाधार र अन्य पर्यटकीय आधारहरुको विस्तार गर्न सकेमा श्रावण महिनामा मात्र होइन अन्य समयमा पनि आन्तरिक पर्यटकहरुका लागि राम्रो गन्तब्यको रुपमा विकास गर्न सकिने सम्भावना छ ।