विद्युत प्राधिकरणमा कुलमानलाई नियुक्त गरिने

विराटनगर । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुषालबीच कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनेबारे छलफल भइसकेको छ ।

मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका थिए । त्यसअघि भुषालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजिनामा गर्न निर्देशन दिइसकेकी छन् ।

उर्जामन्त्री भुसालले शाक्यलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाकै अगाडि शाक्यलाई राजीनामा दिन भनेकी हुन्। शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। नेपाल सरकारसँग कार्यसम्पादनको करार गरेका उनको काम सन्तोषजनक नभएको भन्दै सरकारले हटाउने तयारी गरेको हो ।

अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए। उनको चार वर्षे कार्यकाल सकिएपछि उनलाई प्राधिकरणका निरन्तरता दिन चौतर्फी आवाज उठेपनि तत्कालीन प्रधानमन्त्र केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।

प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई ओली सरकारले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । शाक्य आएपछि प्राधिकरणको चुहावट बढेको छ र भने नाफमा रहेको प्राधिकरण घाटामा गएको रिपोर्ट सार्वजनिक भएको छ ।

कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएका थिए।

मङ्गलबार, १९ साउन, २०७८, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर