चार भाईको दुःख : अदालतले भनिदियो, ‘तिमीहरु एमाले नै हौ’

विराटनगर । हामी माओवादी नै हौं भन्दै सर्वोच्चमा रिट हालेर एमाले बैठकमा सहभागी हुने चार नेतालाई अदालतले ‘तिमीहरु एमाले नै हौ’ भन्ने फैसला सुनाइदिएको छ ।

माओवादीबाट सांसद पदमा निर्वाचित नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरिशंकर चौधरीले आफूहरु माओवादी नै रहेको र सांसद पद जोगाइदिन आग्रह गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए । माओवादी छाडेर एमालेमा लागेका उनीहरुलाई अब सर्वोच्चले माग बमोजिमको आदेश गरेन ।

पार्टी छोडेर एमालेमा लागेपछि यसअघि माओवादी केन्द्रले सांसद पदबाट निष्काशन गरेको थियो । पार्टीले गरेको कारबाही अमान्य भएको भन्दै उनीहरुले सांसद पदमा पुनर्बहालीको माग गर्दै अदालत गएका थिए ।

रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनीहरूले माग गरेअनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अध्यक्ष केपी ओलीले प्रमाणित गरेको पार्टीको दस्तावेजमा उनीहरू एमालेका पार्टी सदस्य रहेको खुलेको, उनीहरूले दल त्याग गरेको जानकारी चैत २६ गते प्रतिनिधिसभा बैठकमा दिइएको देखिएको पनि इजलासले जनाएको छ ।

‘यस अवस्थामा माओवादीले आफ्नो विवेक वा तजविज प्रयोग गरी दल त्यागमा गरेको निर्णयको औचित्य वा अन्तरवस्तुमा प्रवेश गरी अहिले नै अन्तरिम आदेशकै सन्दर्भमा प्रश्नहरूको निरूपण गर्नु मनासिव देखिँदैन,’ इजलासले भनेको छ, ‘सुविधा सन्तुलनको दृष्टीले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिन आएन।’ भट्ट कैलाली क्षेत्र नम्बर–४, रायमाझी अर्घाखाँची, साह रौतहट–३ र चौधरी कैलाली–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

सोमबार, १८ साउन, २०७८, रातीको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर