काठमाडौं । पार्टीको आधिकारिता आफ्नो पोल्टामा पारेको अध्यक्ष उपेन्द्र यादव पक्षले जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा पनि उपेन्द्र यादवलाई चयन गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो। यादवलाई दलको नेता बनाउनका लागि भन्दै संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका थिए । बैठकमा २१ जना संघीय सांसदको उपस्थिति रहेको बताइएको छ ।
यसअघि पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने संसदीय दलको नेतामा राजेन्द्र महतोलाई निर्वाचित गरेको जनाएको थियो । यद्यपि पार्टीको कार्यकारिणी समितिमा अल्पमत भएसँगै सो पक्षको निर्णय अवैध भएको छ ।