विपी प्रतिष्ठानमा आन्दोलन : स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

विराटनगर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरणको माग राखेर ४६ दिनदेखि आन्दोलनरत चिकित्सक विद्यार्थी र कर्मचारीहरुले प्रतिष्ठानको स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

४६ दिनसम्मको शान्तिपूर्ण आन्दोलनलाई राज्यले देखेको नदेख्यै गरेको आरोप लगाउँदै आन्दोलनकारीले तत्कालै स्वास्थ्य सेवा प्रवाह प्रभावित हुने गरी नयाँ आन्दोलन घोषणा गर्ने बताएका हुन् ।

प्रतिष्ठानको समस्या र आन्दोलनबारे राजनीतिक दलका नेताहरुसँग आयोजना गरिएको भर्चुअल छलफलमा सहभागी नेताहरुले स्वास्थ्य सेवा प्रभावित पारेर आन्दोलन नगर्न सुझाव दिएका थिए । एमाले नेता भीम आचार्य, माओवादी नेता गणेश साह लगायतले आन्दोलनकारीको माग जायज रहेको तर जनतालाई दुःख दिने गरी आन्दोलन नगर्न सुझाव दिएका थिए ।

जवाफमा आन्दोलनकारीले धैर्यताको बाँध टुटेको बताउका थिए । ‘हामी ४६ दिनदेखि सत्याग्रहपूर्ण आन्दोलनमा छौं’, प्रतिष्ठानस्थित संयुक्त संघर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले भने ‘हाम्रो यस्तो आन्दोलनलाई राज्यले देखेको नदेख्यै गरेको छ । अब हामी बाध्य भएर स्वास्थ्य सेवा रोकेरै आन्दोलनको तयारीमा लागेका छौं ।’

संयुक्त संघर्ष समितिले सरकारलाई आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिने र उक्त समयमा माग पूरा नभए कोभिड उपचारबाहेकका सेवा ठप्प पार्ने तयारी गरेको चिकित्सक बताउँछन् । ‘आइतबार वा मंगलबार मध्ये एक दिन रोजेर यो आन्दोलनको घोषणा हुनेछ’, समिति स्रोतले भन्यो ‘शालिन आग्रहलाई सरकारले सुनेन । अब स्वास्थ्य सेवा ठप्प नपारे हामीसँग अर्को विकल्प छैन ।’

आन्दोलनकारीले उपकुलपतिसहित प्रतिष्ठानका चारै जना पदाधिकारीको पदमुक्ति, विपी प्रतिष्ठानभित्रको अनियमितता छानविन, शैक्षिक र स्वास्थ्य प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन् । यसबचिमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको छानबिन समिति धरान आएर सर्वपषीय छलफल गरेर फर्केको थियो । समितिले तयार पारेको प्रतिवदेन अझै सार्वजनिक भएको भने छैन ।

शुक्रबार, १५ साउन, २०७८, साँझको ०६:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर