मेयर पराजुलीको कार्यशैलीविरुद्ध प्रदर्शन

विराटनगर । विराटनगरका मेयर भीम पराजुलीले बुधबार मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर कोरोना विरुद्धको खोप लगाईदिएको विरोधमा बिहीबार महानगरपालिका अगाडि प्रदर्शन भएको छ ।

कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै सर्वसाधारणले महानगरपालिका सामुन्ने प्रदर्शन गरेका हुन् । उनीहरुले मेयर पराजुलीको विभेदपुर्ण कार्यप्रति असन्तुष्टि जनाउँदै नैतिकताको आधारमा राजिनामाको माग समेत गरेका छन् । विराटनगरका मेयर भीम पराजुलीको अगुुवाईमा बुधबार मध्यरातमा आफ्ना समर्थक र पार्टी निकट कार्यकर्ताहरुलाई खोप लगाउने तयारी थियो । खोपका लागि कांगे्रसको पनि निकट कार्यकर्ताहरुलाई मात्र खबर गरिएको थियो । कोरोना विरुद्धको खोप बोकेर मेयर पराजुली स्वयंम राती करिब ९ बजे विराटनगर–५ स्थित कांग्रेस बुथ समितिका सभापति बिमल राज भण्डारीको घर पुगेका थिए । तर करिब २० जनाले खोप लगाईसकेपछि पार्टी निकटलाई मात्र खोप दिएको सुचना बाहिरियो । सुचना बाहिरिएसँगै ठुलो संख्यामा जम्मा भएको स्थानीयको भीडले सो कार्यक्रम बिथोलियो । खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका मेयर पराजुुली समेत स्थानीयबाट लखेटिए । स्थानीयको विरोधपछि मेयर पराजुली दौडदै कांग्रेस नगर उप–सभापति प्रविण जोसीको गाडी चढेर भागेको स्थानीयको भनाई छ । भन्सार एजेन्ट रहेका जोसीको गाडीमा स्थानीयले ढुङ्गा प्रहार समेत गरेका थिए ।

मेयर पराजुलीको उक्त हर्कतपछि बुधबार रातीेदेखि नै आक्रोशित बनेका स्थानीयले बिहीबार पनि विरोध प्रर्दशन गरेका हुन् । मेयर पराजुलीले आफ्नो पदीय मर्यादाको दुरुपयोग गरेको उनीहरुको ठहर छ । मेयर पराजुलीले यसअघि पनि कयौंपटक आफ्नो पदको गलत फाईदा उठाएको भन्दै सामाजिक अभियन्ता समेत रहेका स्थानीय कांगे्र्रेस कार्यकर्ता दीपक चापागाँईले मेयरको काम लज्जास्पद रहेको प्रतिक्रिया दिएका छन् । उनले मेयरमाथि पार्टीले तत्कालै कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् । ‘मेयरले आफ्नो अधिकारकोे दुरुपयोग गरेका छन । यसले नेपाली कांग्रेसलाई नै घाटा भईरहेको छ,’ उनले भने, ‘यस बिषयको निष्पक्ष छानबिन हुनुपर्छ ।’

सरकारले हाल फ्रन्टलाईनर र ५५ वर्षभन्दा माथिका उमेर समुहलाई खोप लगाईरहेको छ । खोप केन्द्रमा खोप लगाउनै ६ घण्टासम्म लाईन बस्नुपर्ने अवस्था छ । कोरोना महामारीमा शव व्यवस्थापन र निःशुल्क खाना अभियानमा सक्रिय युवा अभियन्ताहरुले अझै कोरोनाविरुद्धको खोप पाएका छैनन् । तर मेयर पराजुलीले भने आफ्नो जोडबलमा आफु निकट कार्यकर्ताहरुलाई मात्र खोप लगाईदिएका छन् । यसले कोरोना महामारीमा दिनरात नभनी सक्रिय सामाजिक अभियन्ताहरुको समेत मनोबल खस्केको उनीहरुले बताएका छन्् । ‘कोरोना महामारीको बिषम परिस्थितिमा महानगरलाई सघाउने उद्देश्यका साथ टाउकोमा कात्रो बाँधेर हामी निस्किएका थियौं,’ शव व्यवस्थापनमा सक्रिय संजोग गौतमले भने, ‘तर, मेयर स्वयंमको उपस्थितिमा बुधबार राती जुन कार्य भयो, त्यो आपत्तिजनक छ । मेयर जनताका हुन, कांगे्रसका मात्र होईनन् ।’

यद्यपि सम्बन्धित बिषयमा हाम्रोमतलाई प्रतिक्रिया दिँदै मेयर पराजुलीले भने आफु घटनास्थलमा नगएको र कसैलाई खोप नदिएको दाबी गरेका छन् । उनले कांगे्रसको नजिकिँदै गरेको चुनावमा आफुलाई बदनाम गर्न गलत प्रचार गरिएको दाबी गरेका छन् । ‘घटनास्थलमा म उपस्थित थिए भने प्रमाण देखाउनुप¥यो,’ उनले भने, ‘आउँदो चुनावलाई लक्षित गर्दै पार्टीभित्रकै साथीहरुले यस्तो अर्नगल प्रचार गरिरहनुभएको छ । यसमा उम्मेदवार साथीहरुको संलग्नता देखिन्छ ।’

मेयर पराजुलीको खोप काण्ड बाहिरिएपछि उनकै पार्टीले उनीमाथि अख्तियारमा मुद्दा हाल्ने तयारी समेत गरिरहेको बुझिएको छ । उनीमाथि पार्टीले पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी रहेको श्रोतकोे दाबी छ ।

बिहिबार, १४ साउन, २०७८, दिउँसोको ०२:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर