इटहरी । अत्याधुनिक मेसिनगन (एसएमजी) देखाउँदै मोरङको सुुन्दरहरैंचामा एक सुन पस लुट्ने प्रयास भएको छ । तीन जनाको समूहले सुन्दरहरैचा १० स्थित त्रिवेणी चौकबाट सुन पसल लुट्न खोजेकोमा असफल भएपछि बन्दुक देखाउँदै भागेको भिडियो सिसिटिभी क्यामेरामा कैद भएको छ ।
प्रहरीका अनुसार सुन्दरहरैंचा १० त्रिवेणी चोकको शिव पाञ्चायन ज्वेलर्समा शुक्रबार दिउँसो तीन जनाको समूहले लुटपाटको प्रयास गरेको थियो । सञ्चालक खगेन्द्र थापाका अनुसार उनकी श्रीमती बाहिर गएर चोर आयो भनेर चिच्याउन थालेपछि मानिसहरु जम्मा भएकोले उनीहरु मोटरसाइकलमा भागेका थिए । उनीहरूले मोटरसाइकलको नम्बर प्लेट छोपेको बताइएको छ ।
उनीहरुले सुरुमा पेस्तोल देखाएका थिए भने पछि एसएमजी देखाएका थिए । पसल बाहिर हल्लाखल्ला हुन थालेपछि लुटेरा समूह बन्दुक देखाउँदै फरार भएका थिए ।
एक जना गेटमा बसेर अन्य दुई जना पसलभित्र प्रवेश गरि हतियार देखाएर लुटपाट गर्ने प्रयास गरेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । तर, स्थानीयको भिड जम्मा भएपछि लुट्ने योजना विफल भएको प्रहरीको भनाइ छ।
प्रहरीले सुन पसलको सिसिटिभी फुटेज अनुसन्धान गरेको गर्दा हतियार देखिएको हो । हतियार सक्कली हो वा नक्कली हो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले लुटेरा समूहको खोजी भइरहेको जनाएको छ । आधुनिक हतियार एसएमजी उनीहरुको हातमा कसरी आयो भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार उनीहरू मोटरसाइकलमा आएका थिए । नम्बरप्लेट छोपेर मोटरसाइकलमा आएको देखिएको छ । उनीहरू लुटपाटकै लागि आएकामा स्थानीयको भिड जम्मा भएपछि हतियार देखाएर भागेको देखिएको उनले बताए ।

