विराटनगर । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ फरार भएका भारतका मोस्ट वान्टेडको फरार सूचीमा रहेका एक जना पेस्तोलसहित विराटनगरबाट पक्राउ परेका छन् ।
भारतीय प्रहरीको फरार सूचीमा रहेका जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ वर्षीय पप्पु कुमार पटेल पेस्तोल र लागूऔषधसहित पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले विराटनगर–१६ हुलास चौक दक्षिणगेट नजिकदेखि पप्पुलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरीले पप्पुको साथबाट एक थान पेस्तोल र अवैध लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक पोखरेलले पेस्तोल र लागूऔषधसहित सीमा (जङ्गे सीमा स्तम्भ १८० नम्बर) नजिक डम्पिङ साईटको बाटो भएर नेपाल आउने क्रममा बुधबार राती साढे १० बजे पप्पु पक्राउ गरेको बताए ।
‘पप्पुले पेस्तोल र अवैध लागूऔषध नेपालतिर ल्याउन निक्कै चलाखी गरेको देखियो,’ सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले भने, ‘हुलिया बदलेर कवाडी संकलन गर्न हिँड्ने गरेका रहेछन् । प्रहरीले शंका लागेपछि चेकजाँच गरेको थियो । उनले बोकेको प्लाष्टिकको झोलादेखि पेस्तोल र लागूऔषध बरामद भयो ।’ सशस्त्र प्रहरीले कटुवा पेस्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागुऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको हो ।
पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ । ‘यसअघि पनि पप्पुले भारतमा विभिन्न अपराध गरि फरार थिए । ‘उनले भारतमा व्यापारीलाई धम्काउनेदेखि चन्दा असुलीसम्मको अपराधिक धन्दा चलाएर प्रहरीमा परेको उजुरी धेरै रहेको छ । त्यही भएर पप्पु भारतीय प्रहरीको मोस्ट वान्टेट सूचीमा छन्,’ सुरक्षा स्रोतले जानकारी दियो ।