विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालमा भर्ना भएकी उदायपुरकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ ।
एक्कासी पेट दुःखेपछि उदयपुरको बिभिन्न अस्पतालमा उपचार असम्भव भएपछि सोमबार एम्बुलेन्समार्फत विराटनगर स्थित मदर एण्ड चाइल्ड अस्पतालमा ल्याएर भर्ना गरिएकी २९ वर्षीया महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।
मदर एण्ड चाइल्ड अस्पतालका प्रशासन शाखा प्रमुख अजित बस्नेतका अनुसार कोरोना संक्रमित रहेकी ती महिलाको एक्कासी पेट दुख्दा अस्पताल ल्याएपछि जाँच गर्दा एपेन्डिक्सको समस्या देखिएपछि सफल शल्यक्रिया गरिएको हो । अस्पतालका वरिष्ठ सर्जन डा.अभिशेक चौधरीको टोलीले शल्यक्रिया गरेको हो । अहिले महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।
मदर एउण्ड चाइल्ड अस्पतालमा भर्ना भएकी सो महिलाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि बिभिन्न सावधानीहरु अपानाएर शल्यक्रिया गरिएको हो । सर्जन डा. चौधरीका अनुसार सबै सुरक्षाको उपाय अपनाएर ती महिलाको शल्यक्रिया गरिएको थियो ।
बिरामीको समयमै सफल शल्यिक्रिया भएपछि सम्भावित दुर्घटना टरेको अस्पतालले जनाएको छ । चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले सबै सुरक्षाको उपाय अपनाउँदै शल्यक्रिया गरिएको हो ।
विरामीका श्रीमान विकास भट्टराईका अनुसार अन्य अस्पतालहरुले कोभिडको बिरामी भन्ने बित्तिकै नछुने र अलग्गै लगेर राख्ने गरेकोमा मदर एण्ड चाइल्ड अस्पतालले सफल शल्यिक्रया गरिदिएकोमा कृतज्ञता व्यक्त गरे ।