विराटनगर । निषेधाज्ञा खुकुलो बनाएसँगै प्रदेश १ मा कोरोना संक्रमणको दर बढेको छ । खोपको सुनिश्चित नहुनु र निषेधाज्ञा खुकुलो हुँदा अस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार गत असार १० गते १ हजार २ सय ८० जनाको कोरोना परीक्षण गर्दा ३ सय ८३ अर्थात् २९ दशमलव ९२ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । तर, असार १९ गते जम्मा परीक्षण ५ सय ७५ जना हुँदा २ सय ७१ अर्थात् ४७ दशमलव १३ प्रतिशत कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
असार १० गतेयताको तथ्यांक १९ गते एकैचोटी बढेको नभई दैनिक केही प्रतिशत कोरोना संक्रमण दर बढीरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमण दर ११ र १२ गते ३४ प्रतिशत, १३ गते ३२, १४, १५ र १६ गते ३३ प्रतिशत, १७ गते ३५ प्रतिशत र १८ गते ३४ दशमलव ४५ प्रतिशत रहेको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार ७२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७२२ रहेको छ । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ ।
प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इलाम र संखुवासभामा ३–३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि १ हजार २ सय ६१ पुगेको छ । कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मोरङका छन् । मोरङमा हालसम्म ३६१ जना, सुनसरीमा ३३२, झापामा २९२, धनकुटामा २७, भोजपुरमा २, उदयपुरमा ३४, संखुवासभामा ९, तेह्रथुममा ६, इलाममा २५, पाँचथरमा २७, ताप्लेजुङमा ६ जना र अन्य जिल्ला नखुलेका १४० जना रहेका छन् ।
हालसम्म प्रदेश १ का १४ जिल्लामध्ये सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा कोरोना संक्रमणकै कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेशमा हाल विभिन्न अस्पतालको एचडियुमा २ सय ४७ जना, भेन्टिलेटरमा ३९ जना, आइसियूमा १३६ जना, जेनेरल बेडमा २५४ जना र आइसोलेसन बेडमा ५८ जना गरी ७०४ जना उपचाररत रहेका छन् । यस्तै होमआइसोलेसनमा ५ हजार ८ सय २७ जना र अन्य आइसोलेसन केन्द्रहरुमा १९१ जनासहित गरी प्रदेश १ मा ६ हजार ७ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।