विराटनगर । सवारी ज्यान मुद्दाका आरोपी विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको ईजालशले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि रबिन विराटनगर कारागार चलान भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । गत जेठ २० गते बिहीबार राती साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ बर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । घाईते राजवंशीको देबे्र हात, कुमको जोेर्नी, टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको थियो । दुर्घटना भएको ३ दिनपछि मात्रै जेठ २३ मा मोरङ प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो । आरोपी पक्षले भने मृत्तक परिवारलाई क्षतिपुर्ति स्वरुप ५० हजार भारतीय रुँपैया र घाईतेलाई अस्पतालमा लागेको उपचार खर्च दिएर घर पठाईसकेको छ ।

रबिन विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार जिल्ला अदालत मोेरङमा ‘सवारी ज्यान मुद्दा’ को कसुरमा अभियोग दर्ता गराएको थियो । सरकारी वकिलको कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को (२) र दफा १६२ को (१) को कसुरमा निज प्रतिवादी रविन उपर सोही ऐनको दफा १६१ को (२) बमोजिम ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवानाको मागदाबी गर्दै अदालतमा अभियोग दर्ता गराएको थियो ।

अभियोग दर्ता र मागदाबीको आधारमा बुधबार प्रतिवादी उपर अदालतमा बयान सकिएपछि थुनछेक बहस भएको हो । बहस सकिएपछि सवारी ज्यान मुद्दाका आरोपी रबिन कार्की पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

बागमती प्रदेशबाट झिकियो रबिनको लाईसेन्स

रबिनले २ वर्ष अगाडि बाग्मती प्रदेशको यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र बनाएको खुलेको छ ।

दुर्घटना गराएको बेला लाइसेन्स नभेटिए पनि अदालतमा अभियोग बुझाउने बेलामा लाईसेन्स रहेको पत्र फेला परेको हो । रबिनले २०७५ कार्तिक १२ गते सवारी चालक अनुमति पत्र बनाएको अभियोग पत्रमा उल्लेख छ । अभियोग पत्रमा लाईसेन्सको हार्डकपी नभएपनि लाईसेन्स नम्बर भने उल्लेख गरिएको छ । बाग्मती यातायात व्यवस्था कार्यालयले दिएको पत्र अनुसार रबिनको सवारी चालक अनुमति पत्र नं. ०१–०६–००५४२५१९ रहेको छ ।

‘पक्राउ गर्दा रबिनको साथमा लाईसेन्स भेटिएको थिएन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘पछि अनुसन्धान पुरा गर्ने समयमा लाईसेन्स रहेको खुलेको हो । बागमती प्रदेशबाट बनाएको लाईसेन्स नम्बर सहितको पत्र प्राप्त भएको छ । हार्डकपी भने आईपुगेको छैन् ।’

रबिन भने प्रदेश नं. १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् ।